विराटनगर । मोरङ व्यापार संघका प्रतिनिधि मण्डलले नेपाल विद्युत् प्राधिकरणको प्रदेश नं. १ का प्रादेशिक कार्यालय र विराटनगर वितरण केन्द्रका प्रमुखज्यूसँग विद्युत् सम्बन्धी समस्याबारे छलफल गरेको छ ।
मोरङको कटहरी गाउँपालिका तथा मोरङ–सुनसरी औद्योगिक कोरिडोर क्षेत्रमा पछिल्लो समय देखा परेको विद्युत् सम्बन्धी समस्याबारे छलफल भएको हो । छलफलका क्रममा व्यापार संघका अध्यक्ष प्रकाश मून्दडाले नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विद्यूत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेश कुमार गोहिवारलाई स्वागत गर्दै उद्योगीले हाल भोगिरहेको समस्याबारे जानकारी गराए ।
अध्यक्ष मून्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाईन जडान रहेतापनि हाल विद्यूत आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्यूत आपूर्तिका कारण उद्योगहरु संचालन गर्न कठिनाई भई रहेको तथा अधिकांश उद्योगहरुले उत्पादन कटौति गर्न बाध्य भएको बताए । उनले विद्युत ट्रिपिङ्ग एवं भोल्टेजको अस्थिरताबाट उद्योगहरुका विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थहरु खराब भई खेर जाने तथा पुनः प्रक्रियामा ल्याउनु पर्ने आदि समस्याहरुबाट उद्योगलाई ठूलो व्यय भार थपिएको गुनासो गरे ।
त्यस्तै उनले वर्षायाममा समेत विद्युत आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्हारका कार्यहरु सुस्त गतिमा हुने गरेको, विद्युत प्राधिकारणबाट पूर्व सूचना विनै पटक पटक विद्युत कटौती हुने गरेको बताए ।
विद्युत् आपूर्तिमा हुने गरेका त्यस्ता समस्याका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अरबौंको निर्यात प्रभावित भएको र राजस्व समेत गुमिरहेको उद्योगीको भनाइ छ । टोलीले विद्युत् महशुल र डिमाण्ड शुल्कको दरमा लगातारको वृद्धिका कारण समेत उद्योगहरुको लागत खर्च बढेको र त्यसको भार उपभोक्तालाई समेत परिरहेको बारे गुनासो गरेको थियो ।
टोलीले राखेका समस्या र सुझावहरु प्रति नेपाल विद्युत प्राधिकरण, प्रदेश नं. १ प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारीले शीघ्रका साथ आवश्यक कदमहरु चाल्ने आश्वासन दिए । कार्यक्रममा संघका निर्वतमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, महासचिव अनिलकुमार साहलगायतको उपस्थिति थियो ।