निषेधाज्ञा लगाउने मोरङ प्रशासनको चेतावनी

विराटनगर । पछिल्लो समयमा नागरिक सचेत नभएको कारण मोरङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा जारी गर्ने चेतावनी दिएको छ ।

कोरोना संक्रमण दिनप्रतिदिन संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै प्रशासनले सतर्कता अपनाएर सबै सचेत नभएमा निषेधाज्ञा वा लकडाउन गर्नुपर्ने अवस्था आउने चेतावनी दिएको हो ।

निषेधाज्ञा खुकुलो बनाएपििछ संक्रमण बढेको भन्दै सचेत हुन सबैमा अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाद्वारा आइतबार जारी सार्वजनिक अपिलमा भनिएको छ । जनस्वास्थ्य मापदण्ड उल्लंघन र भीडभाडका कारण संक्रमण दर बढ्न थालेको भन्दै अपिलमा खोप लगाउने कार्य सम्पन्न नभएसम्म सतर्कता अपनाउनुको विकल्प नभएको जनाइएको छ ।

अनावश्यक भीडभाडका साथ जुलुस, नाराबाजी, सेमिनार नगर्न अपिलमा आह्वान गरिएको छ । कोरोनाको बेवास्था गरेर भइरहेको गम्भीर लापरबाहीलाई ध्यान नदिए अवस्था भयावह बन्नसक्ने प्रशासनको चेतावनी छ । संक्रमणले अवस्था भयावह बनाएर निषेधाज्ञामा थप कडाइ वा लकडाउन गर्नुपर्ने अवस्था आउनुभन्दा पनि बेलैमा सावधानी अपनाएर सतर्क रहन प्रशासनले सबैमा अनुरोध गरेको हो ।

प्रशासनले दिएको जानकारी अनुसार आइतबारसम्ममा मोरङमा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय पुगेको छ । संक्रमण बढ्दै गएपछि केही स्थानीय तहले लकडाउनको तयारी गरेका छन् । विशेष गरेर मोरङको उत्तरी क्षेत्रमा संक्रमण दर बढ्दो अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

प्रशासन कार्यालयले दिएको जानकारी अनुसार मोरङमा हालसम्म २० हजार ९३५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १५ हजार ५९० जना संक्रमणमुक्त भएका छन् भने ३८७ जनाको मृत्यु भएको छ । मोरङमा सबैभन्दा बढी विराटनगरमा १५९ जना संक्रमितको मृत्यु भएको छ । महानगरभित्र हालसम्म ११ हजार ९६० जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ९ हजार १७१ जना कोरोनामुक्त भएका छन् ।

दोस्रो भेरियन्टले अवस्था जर्जर बनाएपछि मोरङ प्रशासनले गत वैशाख १८ गतेबाट निषेधाज्ञा जारी गरेको थियो । असार महिनामा निषेधाज्ञा खुकुलो बनाउँदै अहिले नाम मात्रको निषेधाज्ञा कायम राखेको छ ।

सोमबार, १८ साउन, २०७८, दिउँसोको ०१:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर