पूर्वाञ्चल विश्वविद्यालयः मापदण्ड मिचेर अस्पताल निर्देशक नियुक्त, पदस्थापन गराइँदै

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा मापदण्ड मिचेर नियुक्त गरिएका शिक्षण अस्पतालका निर्देशकलाई पदस्थापना गराउन लागिएको छ ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय परिसरमा रहेको एक सय शैयाको शिक्षण अस्पतालका लागि उपकुलपति प्रा.डा. यादव कोइरालाको दबाबमा योग्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदै मापदण्ड मिचेर डा. विकेश आचार्यलाई सुटुक्क पदस्थापना गराउन लागिएको हो ।

छनौट समितिको सिफारिसमा विश्वविद्यालय कार्यकारिणी समितिले १५ साउनमा मापदण्ड नपुगेका डा.आचार्यलाई अस्पताल निर्देशकमा नियुक्त गरेको हो । तर उनलाई नियुक्त गरेको सूचना सार्वजनिक नगरिकनै उपकुलपति कोइरालाको निर्देशनमा आजै निर्देशक आचार्यलाई पदस्थापना गराउन तयारी भइरहेको छ ।

निकट भविश्यमै मेडिकल कलेज सञ्चालन गर्ने तयारीमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल निर्देशकका लागि उप्रध्यापक सरहको योग्यता आवश्यक पर्दछ । तर कार्यकारिणी समितिले उक्त योग्यता नपुगेका डा. विपेश आचार्यलाई सुटुक्क उपकुलपति कोइरालाको निर्देशनमा नियुक्त्त गरेको कर्मचारीहरुको आरोप छ ।

उपकुलपति कोइरालाले मापदण्ड मिचेर आचार्यलाई नियुक्त्त गराउन कार्यकारिणी समितिलाई पनि गुमराहमा राखेका थिए । स्रोतका अनुसार उपकुलपति कोइरालाले अन्तिममा कार्यकारीणी समितिका कसैलाई थाहा नदिई एकलौटी ढंगले छनौटका मापदण्ड बनाउन लगाएर अस्पताल निर्देशकमा आचार्यलाई नियुक्त्त गराएका थिए । स्रोतले भन्यो, ‘छनौट समितिका सदस्यहरुलाई उपकुलपति कोइरालाले आवेदकहरुको कुनै कागजात छानबिन गर्न नदिई केही घन्टामै सिफारिस गर्न बाध्य पारेका हुन यसबारे कार्यकारीणी समितिका अन्य सदस्यहरुलाई जानकारी नै भएन ।’

कार्यसमितिका केही पदाधिकारीले यस विषयमा चासो राख्दा उपकुलपति कोइरालाले नियुक्तिको जिम्मा छनौट समितिको भएको र मुद्दा परे आफूहरु होइन छनौट समितिका सदस्यहरु नै जिम्मेवार हुने बताउने गरेका छन् । उपकुलपति कोइरालाले सहप्राध्यापक स्तरका अन्य प्रबल दाबेदार प्रतिस्पर्धीहरु र विश्वविद्यालयमै कार्यरत प्राज्ञिक पद भएका प्रतिस्पर्धीहरुलाई समेत पन्छाएर एकलौटी रुपले आचार्यलाई नियुक्त गराएका हुन् ।

विश्वविद्यालयले १२ असोज २०७७ मा दुई वर्ष सेवा कराराका लागि एक जना निर्देशक माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो । प्रकाशित विज्ञापनमा निर्देशकको योग्यता चिकित्सा शास्त्रमा एमडी वा एमएस उत्तीर्ण गरि मेडिकल काउन्सिलमा दर्ता भै उप्रध्यापक सरहको अनुभव भएको र चिकित्सा महाविद्यालय सम्बन्धि प्रशासनको अनुभव भएको उल्लेख छ ।

तर नियुक्त गरिएका निर्देशक आचार्यले तोकिएको योग्यता पुरा नगरेको र फर्जी कागजातहरु पेश गरेर नियुक्ति लिएको कर्मचारी स्रोतको छ । यसैले कर्मचारीहरुले योग्यताका कागजातहरु सार्वजनिक गरेर छानविन गरिनुपर्ने माग गरेका छन् । विश्वबिद्यालय कर्मचारी स्रोतका अनुसार विज्ञापन गर्दा न्यूनतम उपप्राध्यापक तहको योग्यता माग गरिएकोमा नियुक्त गरिएका निर्देशक आचार्यले कुनै पनि विश्वविद्यालयबाट उक्त पद प्राप्त गरेका छैनन् ।

चीनबाट प्याथोलोजीमा एमडी गरेका आचार्यले शहीद गंगालाल अस्पताल, कोशी अञ्चल अस्पताल अनि निजी प्राक्टिस बाहेक कुनै प्राज्ञिक अनुभव हासिल गरेका छैनन् । उनी पुर्वाञ्चल विश्वविद्यालयको अस्पताल निर्देशकमा तीन वर्ष कांग्रेस कोटाबाट ठाडो तोक आदेशमा निर्देशक नियुक्त भएका थिए ।

आचार्यले आफ्नो निर्देशनमा एक सय शैयाको अस्पताल प्रभावकारी ढंगले सञ्चालन गराउन नसक्दा सुविधा सम्पन्न भएर पनि अझै पुर्वाञ्चाल विश्वविद्यालयको गोठगाउँस्थित अस्पताल गुमनाम अवस्थामै रहेको छ । अस्पतालले वर्षको पाँच करोड भन्दा बढी खर्च हुँदा मुस्किलले चौतिस ३५ लाख मात्र आम्दानी गरेको छ । विश्वविद्यालय स्रोतले भन्यो, ‘आचार्यले आफू उपप्राध्यापक भएको भनि पेश गरेको प्रमाणपत्र फर्जी हो यसैले उपकुलपति कोइरालाले छनौटको मापदण्ड मात्र होइन आवेदकहरुको आवेदन समेत कसैलाई हेर्न दिएका छैनन यसबारे छानविन हुनुपर्छ ।’

मापदण्ड विपरीत अयोग्य व्यक्तिलाई उपकुलपति कोइरालाको निर्देशनमा अस्पताल निर्देशकमा नियुक्त्त गरेको जानकारी पाएपछि उनको प्रमाणपत्र सहित नियुक्ति सार्वजनिक गर्न माग गर्दै कर्मचारीहरुले विश्वविद्यालय प्रशासनमा सूचनाको हक प्रयोग गर्दे कागजात माग गरेका छन् । उपकुलपति कोइरालाले चाँही छनौट समितिको सिफारिस अनुसार आफूहरुले आचार्यलाई नियुक्त्त गरेकोले कुनै अपारदर्शी काम नभएको दाबी गरेका छन् ।

विश्वविद्यालयका केन्द्रिय कार्यालयका सूचना अधिकारी टेकप्रसाद अधिकारीले अस्पताल निर्देशकको नियुक्त्तको आधिकारिताबारे सूचना माग गर्दै निवदेन दर्ता भएको तर सम्बन्धित निकायबाट आधिकारिक कागजात प्राप्त भइनसकेको बताए । यता नियुक्त्ती पाएका निर्देशक विपेश आचार्यले चाँही आफुले प्रकाशित सूचना अनुसार मापदण्ड पुगेका सबै कागजात सहित आवेदन गरेको र सोही अनुसार कार्यकारिणी समितिले नियुक्त गरेको दाबी गरे । डा. आचार्यले भने, ‘म पहिले पनि अस्पताल सञ्चालन गरिसकेको सफल अनुभव भएको व्यक्त्ति हुँ र सबै प्रकृया पुर्याएर आबेदन गरेपछि फेरि अवसर पाएको छु, कसैलाई आपत्ती लाग्छ भने उनीहरुले नै प्रमाण पुर्याउनु ठीक हुन्छ ।’

योग्य निर्देशक नभए एमबीबीएस कार्यक्रम प्रभावित हुनसक्ने

पुर्वाञ्चल विश्वविद्यालयले चाँडै एमबीबीएस कार्यक्रम संचालन गर्ने भनेर चिकित्साशास्त्र संकायले विभिन्न विषय समितिहरु गठन गरि पाठ्यक्रम निर्माण कार्यदलसमेत निर्माण गरेर काम पनि अगाडि बढाइसकेको छ । यसैले भोली एमबीबीएस कार्यक्रम संचालन गर्न शिक्षण अस्पतालका निर्देशकको अत्यन्त ठूलो जिम्मेवारी हुन्छ । किनभने निर्देशक मातहत विभिन्न विभागीय प्रमुखहरु रहने भएकोले उसको न्यूनतम योग्यता सहप्राध्यापक तहको हुनु अनिवार्य मानिएको हो ।

सोमबार, १८ साउन, २०७८, दिउँसोको ०१:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर