विराटनगर । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनकारीले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेका छन् ।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरुको संयुक्त संघर्ष समितिले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा आगामी ७२ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिइएको छ । आन्दोलनको ४७ औं दिनसम्म सरकारले आन्दोलनको माग पूरा गर्न र यसका मुद्दा सम्बोधन गर्न चासो नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले ७२ घण्टे अल्टिमेटम दिएको जनाएको छ ।
समितिका अनुसार शनिबारदेखि कालोपटटी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरुमा तालाबन्दी गर्ने र ७२ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने आन्दोलनकारीको घोषणा छ ।
कोभिड उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभामगिता नहुने आन्दोलनकारीको घोषणा छ ।
संयुक्त संघर्ष समितिले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुनासाथ समिति गठन भएको थियो । आन्दोलनकारीले विपीका पदाधिकारीहरुको पदमुक्ति, शैक्षिक र स्वास्थ्य संस्थामा दलीय हस्तक्षेप रोक्न माग गर्दै आएका छन् ।