तेस्रो लहरको तयारीमा लाग्न मन्त्री राईको निर्देशन

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ को तेश्रो लहरको पूर्व तयारीमा जुट्न निर्देशन दिएकी छिन् । विज्ञहरुले कोरोनाको तेस्रो लहरमा बालबालिका बढी जोखिममा रहने बताएकाले सोही अनुसारको तयारीमा जुट्न उनले निर्देशन दिइन् ।

‘हामी तयारी अवस्थामै थिएनौं भन्ने छुट अब कसैलाई छैन,’ कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारी सम्बन्धमा आयोजना गरिएको भर्चुअल बैठकमा मन्त्री राईले भनिन् । कोभिड–१९ को सम्भावित तेस्रो लहरको पूर्व तयारीमा रहन निर्देशन दिँदै उनले समस्या र चुनौतीको सबैले मिलेर मात्रै समाधान गर्न सकिने बताइन् ।

कोरोना परास्तका लागि सबै एकजुट भए मात्र सम्भव हुने उनले बताइन् । मन्त्री राईले अस्पतालको क्षमताअनुरुप कोरोना संक्रमित बालबालिकाको उपचारका लागि छुट्टै उपचार केन्द्र सञ्चालनका लागि पनि तयारी भइरहेको बताइन् । मन्त्री राईले प्रत्येक जिल्लामा गठित डिसीसीएमसीले आफ्नो जिल्ला भित्रका सबै पालिकाहरुको अवस्था, आवश्यकता र तयारीसहित जिल्लाको समस्या, आवश्यकता पहिचान गरि आवश्यक तयारीसहित सम्पूर्ण जानकारी र माग सामाजिक विकास मन्त्रालयमा तत्काल पेश गर्न निर्देशन दिइन् ।

सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराईको अध्यक्षतामा भएको भर्चुअल बैठकमा स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाई, १४ वटै जिल्ला समन्वय समितिका प्रमुखहरु, सदरमुकामका पालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, अस्पताल र स्वास्थ्य कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

बिहिबार, १४ साउन, २०७८, साँझको ०६:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर