विराटनगर । विराटनगर २ मा अवस्थित जनता नमूना माध्यमिक विद्यालयले पूर्व शिक्षकहरुलाई सम्मान गरेको छ । विगतमा लामो समयसम्म विद्यालयमा शिक्षण गरेका शिक्षकहरुलाई विद्यालयले सम्मान गरेको हो ।

गुरू पूर्णिमाको अवसरमा आयोजना गरिएको शिक्षक सम्मान कार्यक्रममा विराटनगर मेयर भीम पराजुलीले शिक्षकहरुलाई सम्मान गरेका थिए । मेयर पराजुली आफैं जनता माविको पूर्व विद्यार्थी हुन् । उनले आफूलाई अध्यापन गराउने शिक्षकहरु लक्ष्मीकान्त नन्दी, नारायण भगत, कृष्णबहादुर बस्नेत र प्रदिपकुमार विश्वासलाई सम्मान गरेका हुन् । वृहत राष्ट्रिय शिक्षा अभियानले संयोजन गरेको उक्त सम्मान कार्यक्रममा विराटनगरमा उपलब्ध जनता माविका पूर्व शिक्षकहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा हाल विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि अभियानको तर्फबाट सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले असल नेतृत्व भएमा मात्र विद्यलय सुधार्न सकिने बताउँदै नेतृत्वले सबै शिक्षकहरुलाई समेटेर लैजानुपर्नेमा जोड दिए । ‘हामी पढ्दा विद्यालय चौतर्फी दृष्टिकोणले अब्बल थियो । आज विद्यालय बन्द हुने अवस्थामा पुग्यो ।’ देशकै नमुना विद्यालयको पहिचान बनाएको जनताको विगत सम्झँदै उनले भने, ‘नेतृत्वको असक्षमताका कारण विद्यालय यहाँ पुग्यो । अब यसलाई सुधार्न लाग्नुपर्छ ।’ मेयर पराजुलीले सबै शिक्षकहरुको ऐक्यवद्धतामा सुधारको योजना अघि बढेमा आफूले जस्तोसुकै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

‘आसपासका अधिकांश विद्यालयका उत्कृष्ट विद्यार्थीहरु जनता आउन चाहनुहुन्थ्यो । ठूलो प्रतिस्पर्धा पश्चात भर्ना पाइन्थ्यो ।’ विगतमा भर्ना पाउन गाह्रो भएको घटना स्मण गर्दै उनले भने, ‘विगतको नेतृत्व असल थियो । सक्षम थियो । त्यसकारण, विद्यालय अब्बल थियो ।’ पछिल्लो नेतृत्वले बन्द हुने अवस्थामा पुर्याएको विद्यालयलाई अभियान र शिक्षक कर्मचारीको सहकार्यमा सुधारको कार्यक्रम अघि बढेकोमा आफू हर्षित भएको उनले बताए । उनले भने, ‘यो विद्यलय जसरी भए पनि उठ्नुपर्छ, सुधार हुनुपर्छ भन्ने मेरो धारणा छ । त्यसको लागि मैले सकेको सबै सहयोग गर्नेछु ।’ मेयर पराजुलीले जनता माविसँगै विद्यालयका सबै सामुदायिक विद्यालयको सुधारका लागि आफू प्रतिवद्ध रहेको विचार व्यक्त गरेका थिए ।

अभियानका संयोजक अभिषेक घिमिरेले शिक्षकहरुलाई सम्मान गर्ने देश मात्र विकसित भएको दृष्टान्त सुनाउँदै समग्र शिक्षकलाई राज्यले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे । बन्द हुन लागेको जनता मावि सुधारको लागि आफूहरुले गरिरहेको प्रयासमा विद्यालयको नेतृत्व र शिक्षकहरुले साथ दिँदा हर्षित भएको बताउँदै उनले भने, ‘जनता मावि सुधार हुनैपर्छ । त्यसको विकल्प छैन ।’ विद्यालयको शैक्षिक एवम् भौतिक सुधारको लागि मेयर पराजुलीले गर्नुभएको सहयोगको प्रशंसा गर्दै उनले भने, ‘पूर्व विद्यार्थी भएका कारण पनि उहाँले सहयोग गर्नुहुन्छ । उहाँको अपेक्षा अनुरुप हामी विद्यालयको सुधार मात्र होइन अनुकरणीय बनाउँछौं ।’ विद्यालयमा किताबी ज्ञानसँगै सीप, संस्कार, उत्पादन र उद्यमशिलताको विकास गराउन अभियानले भूमिका खेल्ने बताए ।

उक्त कार्यक्रममा पूर्व शिक्षकहरुको तर्फबाट मन्तव्य राख्दै नारायाण भगतले जनता मावि जुनसुकै हालतमा सुधारिनुपर्नेमा जोड दिएका थिए । हिजो आफूहरुको व्यवस्थापनमा भएको विद्यालय आज बन्द हुन लाग्दा पलपल पीडा हुने गरेको स्मरण गर्दै पूर्व शिक्षक भगतले विद्यालय सुधारको लागि आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका थिए । विद्यालय सुधारको यात्रामा अघि बढेको समाचार सुन्दा र देख्दा हर्षित भएको बताउँदै उनले भने, ‘हाम्रो योगदानको स्मरण गरेर आज गुरु पूर्णिमाको अवसरमा सम्मान गरे । यसले अत्यन्तै हर्षित बनाउनुको साथै विद्यालय सुधारको आशा पलाएको छ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सनद कोइरालाले स्वागत मन्तब्य राख्नुभएको थियो भने व्यवस्थापन समितिका अध्यक्ष शिबबहादुर कार्की लगायतले अध्यक्षता गरेका थिए ।