विराटनगर । बढ्दो बेरोजगारीले निम्त्याएको अभाव त्यसको जगमा हुर्किँदै गएको पारिवारिक बेमेल अन्ततः आफन्तको हत्यासम्म उक्लने गरेको छ ।
प्रदेश १ का १४ जिल्लाका पछिल्लो वर्षदिनका आपराधिक घटना केलाउँदा देखिएको तथ्यांकले भन्छ ‘धेरै अपराधमा मान्छे मारिएका छन्, त्यसमा पनि धेरै आफन्तबाटै मारिएका छन् ।’ पारिवारिक रुपमा बढेको बेमेलले निम्त्याएको यो अपराधमा ज्यान गुमाउनेहरु त भइ नै गए, बाँच्ने आफन्तहरुकोसमेत बिचल्ली भएको छ । धेरै बालबालिकाले अभिभावक गुमाएका छन् । अभिभावक नै नहुँदा उनीहरुको लालनपालनमै समस्या सिर्जना भएको छ ।
कसरी बढ्दैछन् यस्ता घटना ? प्रदेश १ का केही उदाहरण हेरौं ।
‘किचकिच’ सहन नसकेको भन्दै मोरङ बेलबारी – ७ दैलपुरका ५४ वर्षीय अम्बिका घिमिरेले १९ असारमा पत्नीको हत्या गरे । प्रहरीका अनुसार ४८ वर्षीया सीता घिमिरेको हत्या आरोपमा पति घिमिरे पक्राउ परेपछि यस्तो रहस्य बाहिर आयो । अम्बिकाले श्रीमतीको किचकिच सहन नसकेपछि मदिराको नशामा भएका बेला हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीले जनाएको छ ।
यो घटनाको एक साता बित्न नपाउँदै प्रदेश १ को राधजानी विराटनगरमा पारिवारिक विवादकै कारण राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार (सूचक ) भोला सिंहको हत्या भयो । असार २५ मा उनको हत्या भएको थियो । विराटनगर – ५ पृथ्वी चोकस्थित घरमा भाइले हत्या गरेका थिए । हत्या आरोपमा मोरङ प्रहरीले भोलाका भाइ ३१ वर्षीय साजन सिंहलाई पक्राउ ग¥यो ।
गत जेठ ४ गते राति रंगेली नगरपालिका– ३ की २४ वर्षीया अनिता यादवको हत्या उनकै १९ वर्षे देवर विनोद यादवले गरे । सामान्य घर झगडाको विषललाई लिएर विनोदले भाउजूको विभत्से हत्या गरेका थिए ।
यी प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो समय पारिवारिक अपराधको ग्राफ निरन्तर बढिरहेको छ । भनाभनबाट सुरू हुने असमझदारी भौतिक आक्रमणको तहमा उक्लिने क्रम बढ्दै जाँदा यस्ता अपराधको संख्या पनि लगातार बढिरहेका छन् । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको पछिल्लो एक वर्षको तथ्यांक केलाउँदा र सुरक्षा अधिकारीहरूको अनुभवले सबैभन्दा सुरक्षित संस्था मानिने परिवार असुरक्षाको कारखानाजस्तै बनिरहेको देखाउँछ । प्रदेशमा पछिल्लो समयमा देखा परेका प्रतिनिधि घटनाहरूले पारिवारिक अपराधको ग्राफ उच्च भएको देखाउँछ ।
१४ जिल्ला रहेको प्रदेश १ मा आर्थिक वर्षमा ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये आर्थिक वर्ष २०७७/०७८ मा १ सय ४३ वटा कर्तव्य ज्यान मुद्दाको घटनामा परिवारिक हत्याका मात्रै ५५ वटा घटना भएका छन् । एक वर्षमा ५५ वटा हत्याको घटनामा ५६ जना मारिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । आर्थिक वर्षमा भएका घटनामा ज्यान गुमाउने अधिकांश महिला छन् । पारिवारिक विवादमा ४६ महिला मारिएको प्रवक्ता एसपी राईले बताए । ‘सामान्य पारिवारिक विवादले हत्याको रूप लिँदा परिवारका सदस्यबाटै मारिनेमा अधिकांश गृहिणी महिला छन’, प्रवक्ता राईले भने । सोलुखुम्बुबाहेक प्रदेश १ का १३ जिल्लामा पारिवारिक विवादमा हत्याका घटना भएका छन् ।
झापामा १२, सुनसरीमा ११, मोरङ र ताप्लेजुङमा पाँच/पाँच, इलाम र उदयपुरमा चार÷चार, खोटाङमा तीन, ओखलढुंगा, तेह्रथुममा, धनकुटा, पाँचथर र संखुवासभामा दुई/दुई तथा भोजपुरमा एउटा हत्याका घटना भएको प्रदेश प्रहरीले जनाएको छ ।
१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डीआईजी अरुणकुमार बिसीले बढ्दो पारिवारिक हत्याका घटनाले परिवारभित्रै असुरक्षित महसुस गराएको बताए । उनले बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन, वैदेशिक रोजगारी, परिवारभित्र पैत्रिक धनसम्पत्तिको बाँडफाँट, मानसिक समस्या, र सबैलाई चिन्तित तुल्याएको बताए । ‘कोरोना महामारीका कारण लामो समयसम्म घरभित्रै थुनिएर बस्नुपर्ने लगायतका कारण सुषुप्त रूपमा रहेका कलह विग्रहमा परिणत हुँदा रिस र आवेगमा यस्ता घटना हुने गरेको पाइन्छ,’ डिआइजी बिसीले भने, ‘जसले बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, श्रीमान्, श्रीमतीभित्र नै जघन्य अपराध निम्त्यिाएको थुप्रै उदाहरण छन् ।’ उनका अनुसार परिवारभित्रको हत्या लगायतका जघन्य अपराध रोकथाम र न्यूनीकरणका लागि विशेष जनचेतनामूलक कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी गराए । ‘पछिल्लो समय बढ्दै गरेको अपराधिक क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि अभियान संचालन गर्ने तयारी गरिएको छ,’ डिआइजी बिसीले भने, ‘कोभिड १९ सहज भएपछि अभियान संचालन गर्ने तयारी गरिएको छ ।’ सरोकारवाला र सामुदायिक प्रहरी साझेदारीमार्फत कार्यक्रम संचालन गर्ने डिआइजी बिसीले जानकारी गराए ।
समाजशास्त्री प्राध्यापक डा. डिल्ली प्रसाइले पछिल्लो समय बढ्दो कलहसँगै सिर्जित अपराधका कारण पारिवारिक सम्बन्ध जटिल मोडमा पुगिरहेको विश्लेषण गर्छन् । सामाजिक र आर्थिक कारणले अहिले परिवारभित्रका सदस्य अपराध कर्ममा लाग्ने गरेको उनको बुझाइ छ । ‘बढ्दो प्रविधिको प्रयोग र व्यक्तिवादी सोच यसका मुख्य जड हुन्,’ उनले भने, ‘आफ्नो मात्रै हरेक कुरा प्रस्तुत गर्ने व्यक्तिवादी सोंच सबैमा हावी हुँदा सामूहिकता र हार्दिकता टुटेर गएको देखिन्छ ।’ पैसा र सम्पत्तिका लागि जे पनि गर्ने र गलत बाटो अंगिकार गर्ने चलन बढ्दा पुरानो चलन तथा संस्कारको परिपाटीमा ‘ब्रेकडाउन’ भएर परिवार र समाज विघटनतर्फ उन्मुख भइरहनु दुःखद् भएको प्रसाइले बताए ।

