विराटनगरको जनता नमूना सुधारको प्रयास

आन्तरिक किचलो, शिक्षक–शिक्षकबीचको बेमेल र महानगरपालिकाको बेवास्ताका कारण लथालिङ्ग बनेको जनता मावि सुधारमा सबैपक्ष जुटे

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले एक वर्षभित्र सबै सामुदायिक विद्यालयको आधारभूत तह सुधार्न आफूले सबै सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघि व्यवस्थापन समितिभित्रको आन्तरिक किचलो, शिक्षक–शिक्षकबीचको बेमेल र महानगरपालिकाको बेवास्ताका कारण लथालिङ्ग बनेको जनता मावि सुधारमा सबैपक्ष जुटेका हुन् ।

बिग्रिएको विद्यालय सुधारको प्रयास गर्दै विराटनगर–२ मा रहेको जनता नमुना माविको आधारभूत तहका शिक्षकलाई लक्षित गर्दै वृहत राष्ट्रिय शिक्षा अभियानले एक हप्ते निःशुल्क मन्टेश्वरी तालिम संचालन गरेको थियो । सोही तालिममा महानगरपालिकाका प्रमुख भीम पराजुलीले सामुदायिक विद्यालय सुधारको लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।

‘देश बनाउने परिकल्पना गर्नुअघि विद्यालय बनाउनुपर्छ । त्यसमा पनि विद्यालयको आधारभूत तह राम्रो भए मात्र माथिल्लो तहको स्तर राम्रो हुन्छ ।’ यसअघि त्यहाँको व्यवस्थापन सुधारमा पहल नगरी राजनीतिक हस्तक्षेप गर्न खोजेको आरोप लागिरहेका प्रमुख पराजुलीले विद्यालय सुधारको कुरा गरेपछि अभियान्ता झनै हौसिएका छन् ।

महानगरका केही माध्यमिक तहमा रुपान्तरण आएको भए पनि अधिकांशको आधारभूत तह कमजोर रहेको प्रमुख पराजुलीले भने, ‘म आफू पनि विद्यार्थी राजनीतिबाट आएको व्यक्ति । शिक्षा मेरो पहिलो प्राथमिकता हो । त्यसकारण, सामुदायिक विद्यालयको शिक्षा सुधार्न म व्यक्तिगत रुपमा र महानगरको तर्फबाट सधैं प्रतिवद्ध छु ।’

महानगर भित्र रहेका सामुदायिक विद्यलयका नेतृत्वले सुधारको सपना नदेखेका कारण हजारौं बालबालिकाको भविष्य अन्धकार भइरहेको छ । ‘अधिकांश विद्यालयको नेतृत्व र शिक्षक निदाएका कारण विद्यार्थी हलचल नै गर्न नसक्ने अवस्थामा पुगे । अब यो अवस्था लामो समय चल्दैन । काम नगर्ने शिक्षकले जागिर छोडेर गए हुन्छ,’ प्रमुख पराजुलीले भने ।

वृहत राष्ट्रिय शिक्षा अभियानले बन्द हुने अवस्थामा पुगेको जनता माविको सुधारको लागि निःशुल्क सहयोग गरिरहेको छ । विद्यालयको बालकक्षादेखि कक्षा ५ सम्म मन्टेश्वरी तथा अंग्रेजी माध्यमबाट अध्यापन गराउने, कक्षा ६–१० लाई प्रविधिमैत्री ढंगले पठनपाठन गराउने बताउँदै देशकै पहिलो पूर्ण प्रविधिमैत्री विद्यालय बनाउन पहल गरिरहेको छ ।

जसअन्तर्गत जनता माविका आधारभूत तहका शिक्षकलाई एक हप्ते आधारभूत तहको मन्टेश्वरी तालिम अभियानले निःशुल्क दिएको हो । उक्त तालिममा स्थानीय राधाकृष्ण मावि, पोखरिया मावि, मदननगर आवि लगायतका विद्यालयबाट आधारभूत तहका शिक्षकहरुको सहभागिता छ । अभियानले जनता माविका सबै शिक्षकहरुलाई प्रविधिमैत्री बनाउन १५ दिनको डिजिटल लिट्रेसीको तालिमसमेत दिइरहेको छ ।

‘तालिमले शिक्षकहरुलाई बाल मनोविज्ञान बुझेर उनीहरुको भावना अनुरुप रमाउने वातावरण सृजना गर्दै अध्यापन गराउन सहजता प्रदान गर्छ,’ तालिमका प्रशिक्षक एवम् शैक्षिक अभियानका संयोजक अभिषेक घिमिरेले भने, ‘यो पहिलो चरणको तालिम हो । यसले शिक्षकहरुलाई मन्टेश्वरीको अवधारणा बुझाउनुका साथै बालबालिकासँग नजिक हुने उपायहरु सिकाउँछ ।’ विद्यालयमा रमाउने वातावरण नभएका कारण सामुदायिक विद्यालयमा विद्यार्थी नियमित नहुने समस्यालाई यस तालिमले अन्त्य गर्ने घिमिरेको बुझाई छ ।

जनता मविलाई ५० लाख

विराटनगर महानगरका मेयर भीम पराजुलीले बन्द हुने अवस्थामा पुगेको जनता माविको पुनः संरचना गर्न ५० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । बन्द हुन लागेको विद्यालयमा आएको रुपान्तरणको अनौपचारिक अवलोकन गर्न पुगेका मेयर भीम पराजुलीले विद्यालयलाई आवश्यक पर्ने भौतिक एवम् शैक्षिक सुधारको लागि महानगरको तर्फबाट ५० लाख दिने प्रतिवद्धता जनाएका हुन् ।

‘जनता मावि आफैंमा ठूलो इतिहास बोकेको विद्यालय हो । म आफू पनि यही विद्यालयबाट पढेको हुँ । यस विद्यालयप्रति मेरो ठूलो आस्था र सम्मान छ ।’ मेयर पराजुलीले भने, ‘यसको संरक्षण गर्न र शैक्षिक गुणस्त सुधार्न मैले सकेको सबै सहयोग गर्छु ।’

मेयर पराजुलीको नेतृत्वमा केही समय अघि मात्र विद्यालयको शैक्षिक वातावरण सुधारमा सहयोग पुग्ने अपेक्षासहित विवादीत प्रअ विजय रौनियारको सरुवा गराएर सनद कोइरालालाई नयाँ प्रअको रुपमा ल्याइएको थियो । नयाँ प्रअ र व्यवस्थापन समितिको सकृयता, शिक्षकहरुको एकता, अभियानको सहयोग र सहजीकरणले विद्यालयले मुहार फेर्न थालेको हो । अघिल्लो शैक्षिक सत्रमा केही दर्जनमात्रै विद्यार्थी थिए । तर अहिले २ सय बढी विद्यार्थी नियमित आउने सम्भावना देखिएको अभिभावकहरु बताउँछन् । हाल उक्त विद्यालयमा १ सय ७३ बालबालिकाले नाम दर्ता गराइसकेका छन् ।

बुधबार, ०६ साउन, २०७८, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर