हुलासका निष्काशित मजदुर थप आन्दोलित

विराटनगर । श्रम शोषणको आरोप खेपिरहेको हुलास वायर इन्डष्ट्रिजले निष्काशनमा परेका मजदुरहरुको पुनर्बहाली नहुने बताएपछि उनीहरु थप आन्दोलित भएका छन् ।

मजदुरहरुलाई पुनर्बहाली गर्नुको सट्टा १५ हजार क्षतिपुर्ति लिएर विदा हुन दबाब दिएपछि उनीहरु आन्दोलनलाई निरन्तरता दिने निष्कर्षमा पुगेका हुन् ।

उद्योगको व्यवस्थापन पक्ष र मजदुर सङ्गठनबीच भएको ३ पटकको वार्तामा पनि सहमति जुट्न नसकेपछि मजदुरहरुले आन्दोलनको विकल्प रोजेका हुन् । आइतबार विराटनगर बसपार्कस्थित रत्ना होटलमा उद्योगको व्यवस्थापन पक्ष र मजदुर सङ्गठनबिच भएको वार्ता टुङ्गोमा नपुगेपछि मजदुरहरुले आन्दोलन थप सशक्त बनाउने निर्णय गरेका छन् ।

वार्तामा उद्योग प्रशासनले मजदुरहरुलाई पुनर्बहाली गर्नुको सट्टा २ महिनाको पारिश्रमिक बापत १५ हजार रुँपैया दिएर बिदा गर्ने निर्णय सुनाएका थिए । आक्रोशित हुँदै वार्तास्थलबाट बाहिरिएका सुर्यकुमार गिरीले भने, ‘आधा जीवन नै उद्योगमा बिताएका श्रमिकहरुको पुनर्वहाली हुनुपर्ने र सरकारी मापदण्ड अनुसारको सेवा सुविधा पाउनुपर्ने हाम्रो माग हो । तर, उद्योग भने मजदुर कटौती गर्नेतर्फ केन्द्रित देखिन्छ ।’

श्रम ऐनमा व्यवस्था भए अनुरुपको सेवा सुविधा माग गर्दै मजदुरहरुले विराटनगरस्थित श्रम कार्यालयमा उजुरी गरेपछि गत असार २३ गते विगत १० वर्षभन्दा बढी समयदेखि उद्योगमा कार्यरत ९३ जना मजदुरहरु निष्काशनमा परेका थिए । २३ गते बुधबार बिहान काम गर्न जाँदा निष्काशनमा परेका एल्बे, ची.आई, वाटिङ र मेन्टेनेन्स फाँटका मजदुरले उद्योगमा प्रवेश पाएका थिएनन् ।

निष्काशनमा परेका ९३ जनालाई प्रवेशमा नदिएपछि उद्योगमा कार्यरत ७ सय ५० बढी मजदुरले संयुक्त आन्दोलन थालेका थिए । आईतबारसम्म उनीहरु उद्योगमा काम गर्न नगएपछि ५ दिनदेखि बुढीगङ्गा–३ स्थित हुलास वायर इन्डष्ट्रिज ठप्प छ । उनीहरु गेट अगाडि धर्ना बसेका छन् ।

असार २३ गते उद्योग प्रशासन र मजदुर सङ्गठनबिच सहमति गर्ने उद्देश्यका साथ पहिलो वार्ता भएको थियो । वार्तामा उद्योगले विचार र समस्या समाधान गर्नका लागि श्रमिकहरुसँग २ दिनको समय माग गरेको थियो । तर, यसअघि पनि उद्योगले कयौंपटक समय माग गर्दैै मजदुरहरुको माग सुनुवाई नगरेको मजदुरहरुको आरोप छ ।

श्रम ऐन २०७४ को बुँदा नम्बर ११ को दफा १ मा रोजगार दाताले रोजगार सम्झौता नगरी कसैलाई काममा लगाउन नहुने उल्लेख गरेको छ । यस्तै बुँदा नं. १३ मा रोजगारदाताले श्रमिकसँग रोजगार सम्झौता गर्दा निजलाई ६ महिना परीक्षणकालमा खटाउन सक्ने र परीक्षणकालमा श्रमिकको काम सन्तोषजनक नदेखिएमा त्यस्तो श्रमिकसँगको रोजगार सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था गरिएको छ । तर, विगत १० वर्षभन्दा बढी समयदेखि कार्यरत श्रमिकहरुसँग उद्योगले कुनै प्रकारको रोजगार सम्झौता गरेको छैन ।

उद्योगमा कार्यरत गेनुलाल माझीले भने, ‘श्रम ऐन अनुसार मजदुरले पाउने पारिश्रमिक तथा अन्य सेवा सुविधा श्रम ऐन तथा श्रम ऐन अन्तर्गत बनेको नियममा तोकिएभन्दा कम नहुने गरि रोजगार सम्झौतामा उल्लेख भए बमोजिम हुने व्यहोरा उल्लेख गरिएको छ । तर, उद्योगले हालसम्म हामीलाई न्यूनतम पारिश्रमिकसमेत दिएको छ । हामी श्रम शोषणमा परेका छौं ।’

उद्योगमा कार्यरत मजदुरहरु भने निष्कासित श्रमिकलाई पुनः रोजगारी प्रदान नगरिएसम्म उद्योग चल्न नदिने बताएका छन् । सरकारी मापदण्ड अनुसारको सेवा सुविधा पाउनुपर्ने र रोजगारविहिन बनाइएका मजदुरहरुको पुर्नबहाली हुनुपर्ने उनीहरुको माग छ ।

वार्तामा बसेका उद्योग प्रशासनका रोहित रेग्मीले सम्बन्धित बिषयमा हालसम्म कुनै प्रतिक्रिया दिन मानेका छैनन् । हुलास वायर इन्डष्ट्रिज भने गोल्छा अर्गनाईजेशनकी सदस्य राज्यलक्ष्मी गोल्छाद्वारा सञ्चालित उद्योग हो ।

सोमबार, २८ असार, २०७८, बिहानको १०:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर