डिडिसीद्वारा साढे चार करोड बक्यौता भुक्तानी: किसानलाई चार करोड तिर्न बाँकी

विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनाले किसानहरुलाई तिर्न बाँकी रहेको ४ करोड ५० लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ ।

दुग्ध सहकारी मार्फत दूध बिक्री गरेका किसानहरुले दुग्ध विकास संस्थानले उपलब्ध नगराएका कारण केही महिनादेखि भुक्तानी पाउन सकेका थिएनन् । संस्थानले रकम निकासा नपठाएको भन्दै सहकारीहरुले किसानलाई पैसा दिएको थिएन । सहकारीले दूधको पैसा नदिँदा दूध बेचेर घरव्यवहार चलाउने र जीविकोपार्जन गर्ने धेरै किसानहरु समस्यामा परेका थिए । अहिले पनि कुल भुक्तानीको आधा रकम मात्र पठाएकोले पाउनु पर्ने आधा रकम अझै पाउन सकेका छैनन् ।

संस्थानको विराटनगर दुग्ध वितरण आयोजना अन्तरगतका किसानहरुलाई ८ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेकोमा यसै महिना ४ करोड ५० लाख रुपैयाँ भुक्तानी गरेको आयोजनाका प्रमुख गणेश यादवले जानकारी दिए ।

किसानहरुलाई ४ करोड ५० लाख रुपैयाँ भुक्तानी दिएपनि अझैं ४ करोड रुपैयाँ भन्दा बढी रहकम विराटनगर आयोजनाले किसानलाई तिर्नुपर्ने छ । संस्थानले ठूलो परिमाणमा धुलो दूध र बटर (नौनी) उत्पादन गरी स्टक गरेर राख्नु परेका कारण अरबौं रुपैयाँ बराबरको उत्पादन नगदमा परिणत हुन नसकेको बताएको छ । उत्पादित बस्नु बिक्री नगरी गोदाममा थन्क्याउनु पर्दा चालु पुँजीको अभाव भई किसानहरुलाई भुक्तानी दिन नसक्ने अवस्था आएको हो ।

दुग्ध वितरण आयोजना विराटनगरले अहिले सहकारी मार्फत दैनिक सरदर २६ हजार लिटर दूध संकलन गर्दै आएको छ । आयोजनाले विराटनगर, इनरुवा, इटहरी र धरानमा लगायतका सहरमा दैनिक सरदर ८ हजार लिटर मात्र दूध बिक्री गर्ने गरेको छ । दूध संकलन र वितरणको अनुपात नमिलेका कारण उसले उत्पादन विविधिकरण गरी बजारमा लैजाने कार्यलाई जोड दिएको छ । डिडिसीबाट उत्पादित दही, पनिर आइसक्रिम आदिको बिक्री राम्रो रहेको आयोजनाका प्रमुख यादवले जानकारी दिए । ‘हाम्रो दैनिक दूध कलेक्सन बिक्रीको तुलनामा कम छ,’ प्रमुख यादवले भने ‘तर अन्य उत्पादन दही, पनिर आदिको बजार राम्रो छ ।’

बजारमा निजी डेरी उद्योगहरुले दिने कमिशनका कारण बिक्रेताहरु डिडिसीको उत्पादन बिक्री गर्न प्रोत्साहित नहुने गरेका कारण दूधको बिक्री अपेक्षकृत बढाउन नसकेको यादवले बताउनुभयो । बजारमा खुला दूध प्रयोग गर्ने बानीका कारण पनि डेरीको दूधको बजार संकुचन भएको उनको अनुभव छ ।

विराटनगर दुग्ध वितरण आयोजनाले पाउडर दूध उत्पादनलाई पनि कटौती गरेको छ । बजारको मागको तुलनामा धेरै पाउडर स्टक रहेका कारण डिडिसीलाई आर्थिक चाप परेका कारण पनि उसले विगतमा जस्तो पाउडर उत्पादनमा जोड दिएको छैन । विगत वर्षमा बुटवल, हेटौडादेखि दूध ल्याएर पाउडर उत्पादन गर्ने गरेको डिडिसीको विराटनगर आयोजनाले पछिल्ला दिनहरुमा आफ्नै कभरेज क्षेत्रबाट संकलन भई बाँकी बचेको दूधबाट मात्र पाउडर बनाउने गरेको छ ।

विराटनगर स्थित आयोजनाको गोदाममा अहिले १६५ मेट्रिक टन पाउडर र ६२ मेट्रिक टन बटर मौज्दात रहेको आयोजना प्रमुख यादवले जानकारी दिएका छन् ।

सोमबार, २८ असार, २०७८, बिहानको ११:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर