रंगेली–विराटनगर सडकखण्डस्थित लोहन्द्रा खोलाको पुल जीर्ण

विराटनगर । मोरङको रंगेली–विराटनगर सडकखण्ड अन्र्तगतको लोहन्द्रा खोलामाथिको लोहन्द्रा पुल जीर्ण बनेको छ ।

उचित संरक्षण र मर्मतको अभावमा पुरानो सदरमुकाम रंगेली र प्रदेश १ को राजधानी विराटनगर जोड्ने उक्त पुल जीर्ण बनेको हो । जहदा गाउँपालिका वडा नं. ४ स्थित हुलाकी राजमार्ग अन्र्तगतको उक्त पुल जीर्ण बन्दा त्यहाँबाट आवागमन गर्ने सवारीसाधनहरु अत्याधिक जोखिममा परेका छन् । पुल क्षतिग्रस्त अवस्थामा हुँदा रंगेली, धनपालथान, जहदा, कटहरी र विराटनगरका अधिकांश नागरिकको आवागमन समेत जोखिमपूर्ण बन्दै गएको छ ।

वि.सं. २०२८ सालमा सिँचाई कार्यालयद्वारा निर्मित उक्त पुल वर्षेनि आउने बाढी र साँघुरो भएका कारण बारम्बार भईरहने सवारी दुर्घटनाको मारमा परेको स्थानीय बताउँछन् । निर्माण भएपश्चात मर्मत सम्भार नभएको कारणले पनि पुलको संरचना कमजोर बन्दै गएको उनीहरुको भनाई छ । पछिल्लो समय पुलमा गरिएको कालोपत्रे पनि भत्किन थालेको छ भने ठाउँठाउँमा खाल्डाखुल्डी परेको छ । पुलका रेलिङहरु समेत भत्किएका छन् । अबको बाढीमा पुल नै बग्ने जोखिम उच्च रहेको स्थानीय बुढापाकाहरुको आशङ्का छ ।

बाढीले पुल बगाउँदा विशेषगरि रंगेली र विराटनगरका सर्वसाधारण प्रत्यक्ष प्रभावित हुने उनीहरुको भनाइ छ । ‘यो पुल भत्कियो वा बाढीमा बग्यो भने रंगेली र विराटनगरका सर्वसाधारणको दोहोरो आवागमन प्रत्यक्ष रुपमा प्रभावित हुन्छ,’ जहदा–४ का लक्ष्मण प्रसाद राउत भने, ‘औषधी उपचार, पठनपाठन र रोजगारीको शिलशिलामा दैनिक विराटनगर तथा रंगेली धाउनेहरु समस्यामा पर्छन् ।’

लोहन्द्रा पुल विराटनगरबाट रंगेली हुँदै पूर्वको उर्लाबारी र झापाको गौरीगञ्जसम्म पुग्न सकिने सडकखण्ड अन्र्तगत पर्दछ । उक्त पुलबाट सयौं निजी तथा सरकारी र मालवाहक सवारीसाधनहरुको नियमित आवागमन हुने भएकाले लोहन्द्रा पुल समयमै पुनःनिर्माण गरिनु आवश्यक बन्दै गएको स्थानीयको भनाइ छ । पुनःनिर्माणमा ढिलाई गरिए पुलको संरक्षणका लागि पारवहन क्षमताभन्दा बढी लोडका मालवाहक सवारीसाधनको आवागमनमा रोक लगाउनुपर्ने उनीहरुको माग छ ।

वर्षेनी आउने बाढीले पनि पुललाई कमजोर बनाउँदै लगेको कटहरी–३ का सिटी रिक्सा चालक राजु पासवानले बताए । पुल होचो भएका कारण बर्षायाममा पुलको माथिबाटै बाढीको पानी बग्ने गरेको उनको अनुभव छ । ‘बाढीमा बगेर आउने फोहोरमैला र बाँसका अस्थायी संरचनाहरु यही पुलमा आएर ठोकिने गरेका छन्,’ उनले भने, ‘पुलकै माथिबाट पानी बग्दा कयौंपटक आवागमन समेत अवरुद्ध हुने गरेको छ ।’

बाटो फराकिलो र पुल साँघुरो भएपछि पुलमा हुने दुर्घटनाका कारणले पनि पुल छेदविच्छेद अवस्थामा पुगेको स्थानीय ललितादेवी ठाकुरले बताईन् । ‘बाटोको चौडार्ई ८ मिटर र पुलको चौडाई ४ मिटर छ । पुल साँघुरो भएकाले पटकपटक दुर्घटना हुने गरेको छ,’ उनीले भनिन, ‘पुलमा भएको दुर्घटनाकै कारण पुलको दुवैपट्टिका रेलिङहरु समेत भत्किएका छन् ।’

२०२८ सालमा बनेको उक्त पुल ४ मिटर चौडाई र ६५ मिटर लम्बाईको रहेको छ । पुल पुनःनिर्माणका लागि स्थानीय वडा कार्यालयले संघीय सरकारसँग समेत आग्रह गरिसकेको छ । तर उक्त पुल हुलाकी राजमार्र्ग अन्तर्गत पर्ने भएकाले यसको पुर्ननिर्माणको जिम्मा झापा, मोरङ, सुनसरी र सप्तरी जिल्ला हेरिरहेको इटहरीस्थित कार्यालयको रहेको वडा नं. ४ का वडाध्यक्ष जयनरथ गिरीले बताए ।

हुलाकी राजमार्गको गतिविधि हेरिरहेको इटहरीस्थित कार्यालयले भने पुल पुनःनिर्माणका लागि डिजाईनसहितको फाईनल डिपिआर समेत स्वीकृत भएर आईसकेको जनाएको छ । कोभिड–१९ र बाढीका कारण टेण्डर प्रक्रियामा जान ढिलाई भएपनि असोजमा पुुल पुनःनिर्माणको प्रक्रिया अघि बढ्ने इटहरीस्थित कार्यालयका इन्जिनियर शिवराम देवले बताए । उनले स्वीकृत विस्तृत कार्ययोजना अनुसार लोहन्द्रा खोलामाथिको उक्त पुल १२ मिटर चौडाई र १०० मिटर लम्बाईको बन्ने जानकारी दिए ।

इटहरीस्थित कार्यालयले भने हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिङ्क रोडसमेत गरी २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ । कार्यालयका अनुसार अहिले सडकको १८ र पुलको २७ गरी जम्मा ४५ वटा ठेक्कामा निर्माण कार्य जारी छ ।

शनिबार, २६ असार, २०७८, दिउँसोको ०४:२० बजे

प्रतिक्रिया

  1. विराटनगरको सिंहिया पुल पनि पूर्ण रूपले जीर्ण अवस्थामा रहेको छ । यसको बारेमा पनि जानकारी सहित समाचार पाइन्छ की ???

प्रतिक्रिया:

सम्बन्धित खवर