पाँचथर । जिल्लाको फिदिम नगरपालिका ४ जोरसालका ७९ वर्षीय टेकबहादुर लिम्बुको हत्यारालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फिदिम–२ पल्लाटारका ५९ वर्षीय जीव नारायण श्रेष्ठले सामान्य कुलोको पानी विवादमा लिम्बूको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाएको छ ।
प्रहरीका अनुसार बाम्फोक प्रहार गरी श्रेष्ठले लिम्बूको हत्या गरेको स्वीकार गरेका छन् । हत्यारा श्रेष्ठ यान्त्रिक कार्यालय फिदिमका सुरक्षाकर्मीको रुपमा काम गर्दै आएका थिए ।
खेतको साँध सिमानामा पटक–पटक विवाद हुँदै आएको कारण घटना भएको हो । घटना भएको दिन राती ७ः३० बजे श्रेष्ठ खेतमा गएका थिए । सो समयमा लिम्बूले आफ्नू खेतमा पानी फर्काएको देखेपछि रिसको झोंकमा लिम्बूलाई बाम्फोक र सोते प्रहार गरी हत्या गरेको खुल्न आएको पाँचथरका प्रहरी प्रमुख दानबहादुर थापाले बताए ।
टेकबहादुर सेवा निवृत्त भारतीय लाहुरे हुन् । उनकी श्रीमती कालिमाया पक्षघातको बिरामी छिन् । उनी बोल्न पनि सक्दिनन् । त्यही कारण घटनाबारे अनुसन्धान गर्ने प्रहरीलाई सकस परेको थियो । प्रहरीले अनुसन्धानका लागि संघीय प्रहरी इकाई धरानबाट कुकुरसहितको टोली झिकाइएको थियो ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।