सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा अवस्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणको गुरुयोजना तयार पारिएको छ । जिल्लाको तल्लो क्षेत्रको पर्यटन विकासमा सम्भावना बोकेको ऐतिहासिक तथा मनोरम ठाउँ सुकेपोखरीको वृहत्तर विकासको लागि अघि बढेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
गाउँपालिकाले स्थानीय सरकार गठनको पहिलो वर्ष नै सुकेपोखरीको गुरुयोजना बनाएर व्यवस्थित बनाउने योजना बनाएअनुसार गुरुयोजना बनाएर अघि बढेको उनले जानकारी दिए । सुकेपोखरीलाई त्रि–धार्मिकस्थलको रूपमा समेत विकास गरिने उनको भनाइ छ । जहाँ किराँत, बौद्ध र हिन्दु धर्मालम्बीको लागि मन्दिर निर्माण गरिनेछ ।
पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको सुकेपोखरीमा खोटाङको हलेंसी महादेवस्थानमा दर्शनका लागि आउने दर्शनार्थीलाई सुकेपोखरीसम्म ल्याउने हिसाबले संरचनाको निर्माण गर्ने अध्यक्ष राईले बताए । सुकेपोखरीलाई त्रिधार्मिक पर्यकटीय क्षेत्र बनाउने भएपछि स्थानीयमा खुशी छाएको स्थानीय लाखधन राईले बताए । यसले गाउँको विकास तथा रोजगारी सिर्जना हुनुका साथै आन्तरिक पर्यटनमा टेवा पुग्ने उनको भनाइ छ ।
सुकेपोखरी पर्यटन गुरुयोजना कार्यान्वयनका लागि पाँच करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । लगानी साझेदारीमा संरचना निर्माण गरिने सुकेपोखरीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन करोड रुपैयाँ र स्थानीय सरकारले दुई करोड रुपैयाँ लगानी गर्ने योजना छ । जसका लागि बोलपत्र आब्हान समेत भईसकेको छ ।
सुकेपोखरी पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख रुपैयाँ विनियोजन भइसकेको छ । जसमा गाउँपालिकाको तर्फबाट ४० प्रतिशत सहयोग हिस्सा रहनेछ । गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।
यो क्षेत्रको निर्माणसँगै आन्तरिक एवं बाह्य पर्यटनको केन्द्र बन्नुका साथै स्वर्ण सगरमाथा पर्यटन मार्गसँग जोडिएर मुख्य आकर्षणको केन्द्र बन्ने बताइन्छ । परियोजनाको लागि त्रिभुवन विश्वविद्यालयका भुगर्वविद्को टोलीले स्थलगत अध्ययनको रिपोर्ट, बृहत प्राविधिक अध्ययन एवं समग्र स्थितिको अध्ययन गरेर ‘डिपिआर’ तयार पारेको हो ।
– गोरखापत्रबाट साभार