लुम्बिनीमा जसपाकी मन्त्रीद्वारा राजिनामा, मुख्यमन्त्री पोखरेल अल्पमतमा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् ।

जनता समाजवादी पार्टीकी सांसद रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष शुक्रबार राजीनामा बुझाएकी हुन् ।

जनता समाजवादी पार्टी, नेपालको सरकारलाई समर्थन नरहेकाले मन्त्रीबाट राजिनामा दिएको रायमाझीले बताएकी छन् । जसपामा महन्थ ठाकुर निकट भएर पार्टी निर्देशन विपरित चार जना मन्त्री बनेका थिए । त्यसपछि पार्टीले उनीहरुलाई सांसद पदबाट पदमुक्त गरेकोमा सर्बोच्च अदालतले पुनःवहाली गरिदिएको छ ।

ठाकुर पक्षमा रहेकी रायमाझीले उपेन्द्र यादव पक्षमा खुलेर राज्यमन्त्रीबाट राजिनामा दिएकी हुन् । पार्टीको समर्थन र सहयोगविना सरकारमा रहन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ (क) बमोजिम पदबाट राजीनामा गरेको रायमाझीले मुख्यमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ । राजीनामासँगै रायमाझी पार्टीको मूलधारमा फर्किएको दाबी जसपा नेता नेता मोहम्मद इश्तियाक राईले गरेका छन् ।

बैशाख ६ गते राज्यमन्त्रीमा नियुक्त भएकी रायमाझीले राजिनामा दिएसँगै मुख्यमन्त्री शंकर पोखरेल फेरि अल्पमतमा परेका छन् । जसपाका सांसद पदमुक्त भएसँगै बहुमत गुमाएको अवस्थामा पनि प्रदेश प्रमुखसँगको मिलेमतोमा उनले एमालेको एकल बहुमत रहेको दावी गर्दै मुख्यमन्त्रीको सपथ लिएका थिए ।

मुख्यमन्त्रीको सपथ विवादित बनेको बेला सर्बोच्चले जसपाका सांसदलाई पुनर्बहाली गरेपछि आफ्नो बहुमत कायम भएको उनको दावी थियो । ८३ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४२ सांसद आवश्यक पर्छ । एमालेका ३८ सांसद रहेका छन् भने जसपाका मन्त्री रहेका ३ जनाले मुख्यमन्त्रीलाई समर्थन गरेका छन् । रायमाझी विपक्षी गठबन्धनमा सामेल भएसँगै विपक्षी गठनबन्धनको पक्षमा ४२ जना देखिएका छन् ।

शुक्रबार, १८ असार, २०७८, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page