धरान । सुनसरीको बराहक्षेत्र नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा दुहुना गाई वितरण गरेको छ ।
नगरपालिकाले २२८ वटा गाई वितरणको लक्ष्य लिएकोमा अहिलेसम्म १५५ वटा गाई वितरण गरिसकेको नगरको पशु सेवा विभागले जनाएको छ ।
कम्तीमा ८ लिटर दूध दिने जर्सी वा होलस्टोन गाई कृषकले खरिद गर्नुपर्ने र त्यसवापत नगरपालिकाले ३५ हजार रुपैयाँ प्रतिगाई अनुदान दिने कार्यबिधि छ । नगरपालिकाको निशर्त अनुदानअन्तर्गत विनियोजित १ करोड ६० लाख रुपैयाँबाट कृषकलाई दुहुना गाई वितरण गरेको हो ।
आगामी आर्थिक वर्षमा पनि यो योजनाले निरन्तरता पाउने पशु सेवा प्राविधिक मेघराज बस्नेतले जानकारी दिए । चालु आर्थिक वर्षमा गाईसँगै नगरपालिकाले बंगुरको बच्चा बुचो २५ वटा र भुनी १३३ वटा वितरण गरेको छ । यस्तै प्रजनन्योग्य राँगा ५ वटा र भ्याक्सिन लगाएको टर्की १ हजार वटा वितरण गरिएको गाउँपालिकाको भनाइ छ ।
पशु स्वास्थ्य प्राविधक विमल अधिकारीका अनुसार नगरद्वारा विनियोजित ५ लाख रुपैयाँबाट च्यापकटरसमेत वितरण गरिएको हो । यसै गरी बाख्रा वितरण कार्यक्रमअन्तर्गत सशर्त अनुदानमा आएको २० लाख रुपैयाँबाट बाख्रा वितरण गरिएको छ भने विनियोजित ३९ लाख ८० हजारबाट पाडा प्रवद्र्धन कार्यक्रम सम्पन्न गरिएको छ ।
गोठ खोर सफाइका लागि पावर स्प्रे ५० प्रतिशत अनुदानमा कृषकलाई वितरण गरिएको पशु स्वास्थ्य प्राविधिक अधिकारीले जानकारी दिए । यसैगरी पूर्ण अनुदानमा ३४ सय केजी जै घाँस र टीओ सेन्टी घाँस १३३० केजी वितरण गरिएको छ ।
नगरपालिकाको पशु सेवा विभागले नगरबाट विनियोजित २८ लाख ४० हजार रुपैयाँबाट बोयर बोका वितरण गर्ने योजना भने अगाडि बढेन । ईबिडिङ र हार्डकपीमार्फत् ठेक्का लगाए पनि ठेकेदार कम्पनीले टेण्डर दरखास्त नदिँदा कृषकहरुलाई वितरण गर्ने भनिएको ७१ वटा बोयर वितरण योजना आगामी आर्थिक वर्षमा सरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।