कटहरीका कृषकलाई ५० प्रतिशत सरकारी अनुदानमा आधुनिक कृषि यन्त्र उपकरण प्रदान

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ का किसानहरुलाई ५० प्रतिशत सरकारी अनुदानमा आधुनिक कृषि यन्त्र उपकरण प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुधबार कृषि ज्ञान केन्द्रद्धारा कटहरीका ५० जना किसानहरुलाई आधुनिक यन्त्र उपकरण प्रदान गरिएको हो । कृषिमा यान्त्रिकरण गर्ने उद्देश्यका साथ ज्ञान केन्द्रले धान ब्लक सञ्चालन समन्वय समिति मार्फत बुधबार २ जनालाई ईलेक्ट्रीक मोटर, ३ जनालाई पम्प सेट, १ जनालाई रिपर फोर जी, ३० जनालाई पावर स्प्रेयर, १० जनालाई पावर टिलर र ४ जना किसानलाई मिनि टिलर सहितका यन्त्र उपकरणहरु हस्तान्तरण गरेको छ । सरकारी अनुदानमा आवश्यक कृषि उपकरण पाएपछि स्थानीय किसानहरु पनि दङ्ग परेका छन् । ‘हामीले परम्परागत रुपमा खेती किसानी गर्दै आएको थियौं । गोरु लगाएर खेत जोत्ने बानी बसेको थियो,’ स्थानीय किसान विश्वनाथ माझीले भने, ‘समय र परिश्रम पनि धेरै लाग्थ्यो, तर आधुनिक कृषि उपकरण पाएपछि खुशी छौं ।’

ज्ञान केन्द्र मार्फत उपलब्ध गराईएको यन्त्र उपकरणहरु कुल ३० लाख ४० हजार मुल्यको रहेको छ । जसमध्ये सरकारी अनुदान स्वरुप यसको ५० प्रतिशत हिस्सा सरकारले व्यहोरेको छ । किसानहरुलाई प्रदान गरिएको यन्त्र उपकरणले समय, परिश्रम र खर्चको पनि बचत हुने कृषि ज्ञान केन्द्र मोरङका प्रमुख नुनुलाल उराँवले बताउनुभयो । धान ब्लक सञ्चालन समन्वय समितिका संयोजक हरिनारायण माझीले व्यावसायिक खेती गर्ने कृषकहरुका लागी उक्त यन्त्र उपकरण उपयोगी साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत ज्ञान केन्द्र यसअघि पनि कटहरीका किसानहरुलाई सरकारी अनुदानमा भने धानको बिउ, जिङ्ग, बुम फ्लावर, जैविक बिषादी र मल लगायतका सामाग्रीहरु उपलब्ध गराईसकेको छ ।

 

बुधबार, ०२ असार, २०७८, रातीको ०८:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर