विराटनगर । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको जनाएको छ ।

यो वर्ष नेपालमा शुक्रबारदेखि प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशबाट आगमन भएको मनसुन अहिले लुम्बिनी र गण्डकी प्रदेशसम्म सक्रिय हुँदै देशभर फैलिने क्रममा छ ।

मनसुन सक्रियतासँगै ठूला तथा मझौला नदीहरुमा जल प्रवाह उल्लेख्य बढ्ने, साना नदीनाला तथा खहरे खोलाहरुमा आकस्मिक बहाव भई तराई र चुरे क्षेत्रहरुमा डुबानसमेत हुनसक्ने अत्यधिक सम्भावना रहेको विभागको आकलन छ । विभागले विज्ञप्तिमार्फत मनसुनको अवधिभर आम सर्वसाधारणलगायत सम्पूर्ण सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भूभागमा सरदरभन्दा बढी वर्षा हुने विभागले जनाएको छ । त्यस्तै लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशको तराई र प्रदेश नं २ को पश्चिम भूभागमा सरदर वर्षा हुने तथा प्रदेश नं १ को तराई र प्रदेश नं २ का पूर्वी जिल्लाहरुमा सरदरभन्दा कम वर्षा हुने आकलन विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमको अवस्था र बाढी पूर्वानुमान महाशाखाले बाढीको अवस्थालाई निरन्तर अनुगमन गरी दैनिक बुलेटिनमार्फत सूचना सम्प्रेण गरिरहेको छ । विभागले पनि मौसम र बाढीसम्बन्धी सूचना र बुलेटिन दैनिकरूपमा वेबसाइट र सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको जनाएको छ ।

बङ्गालको खाडी हुँदै प्रवेश गरेको यस वर्षको मनसुन सक्रिय भएसँगै नेपाली आकाश बादलले धुम्म भएको छ । अब कम्तीमा एक साता घाम नलाग्ने अनुमान विभागको छ ।

मौसमविद् वरुण पौडेलले देशभर फैलने क्रममा मनसुनको सक्रियता बढेको जानकारी दिए । पौडेलका अनुसार आक्कलझुक्कल घाम देखिहाले पनि त्यो एकदमै थोरै समयका लागि हुनेछ ।

मनसुनको सक्रियता थप बढेमा अझै लामो समय निरन्तर वर्षा हुने सम्भावना बलियो रहेको जनाइएको छ । आइतबारदेखिको एक साता मनसुन तीव्र रूपमा सक्रिय भएर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।