विराटनगर । मोरङको कानेपोखरी–३ की १६ वर्षीय पुतली भनिने सीता चौधरीको रहश्यमय तरिकाले मृत्यु भएको घटनामा पीडित परिवारले तीन जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ ।

मृतकका आफन्तले पुतलीको हत्या भएको दाबी गर्दै तीन जनाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दर्ता गराएका हुन् । मकै भाँच्न गएकी पुलतीको वैशाख २२ गते कानेपोखरी ३ का प्रकाश खड्काको खेतबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

पुलती खड्काको घरमा लामो समयदेखि काम गर्दै आएकी थिइन् । खड्काको घर छेउमा मृत भेटिएको पुलतीको हत्या गरेर खेतबारीमा फ्याकिएको दाबी गर्दै घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै जेठ २० गते पीडित परिवारले इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका हुन् ।

पीडित परिवारले घरधनी प्रकाश खड्का, प्रकाश चौधरी र सञ्जु चौधरी विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रकाश चौधरी र सञ्जु मृतकका मामा माइजु हुन् । मामा र माइजुको पनि भूमिका शंकास्पद देखिएकोले किटानी जाहेरीमा नाम उल्लेख भएका व्यक्तिहरुलाई पक्राउ गरि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने पीडित परिवारको माग छ ।

पुतलीको रहश्यमय तरिकाले मृत्यु भएको एक महिना बितिसक्दा पनि प्रहरीले घटनाको बारेमा जानकारी नदिँदा घटना ढाकछोप गर्न लागेको पीडित परिवारको भनाइ छ । पीडित परिवारले किटानी जाहेरी दिएपनि हालसम्म उनीहरुलाई पक्राउ गरिएको छैन । घटना लुकाउन खोजेको भन्दै मृतकका आफन्त र स्थानीयले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राई घटनाको विषय प्रहरीले गहन रूपमा अनुसन्धान सुरु गरेको बताए । ‘प्रहरीले घटनामा फराकिलो दायरा बनाएर अनुसन्धान सुरू गरेको छ,’ डिएसपी राईले भने, ‘अहिले हामी अनुसन्धानको क्रममा रहेका छौं ।’ प्रहरीले मृतकको भिसेरा परीक्षणको लागि प्रहरीको विधी विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको जनाएको छ । त्यसको रिपोर्ट आउन बाँकी छ । भिसेरा रिपोर्ट आएपछि थप विषय खुल्ने प्रहरीले जनाएको छ ।
कानेपोखरी–३ मा हरकपुरमा रहेको मामा प्रकाश खवासको घरमा बस्दै आएकी पुतली बैशाख २२ गते अपरान्ह करिब ३ बजे मृत अवस्थामा फेला परेकी थिइन् । मामाको घरनजिकै रहेको प्रकाश खड्काको घरमा घरेलु काम (बस्तु स्यहार्ने र घाँसपात गर्ने) गर्ने उनी खड्काको घर नजिकै मकैबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । खेतमा घोप्टो परेको अवस्थामा पुतलीको शव भेटिएको थियो ।

शवलाई खड्काको घरमा ल्याएर तेल तताएर मालिस गरिएको थियो । खड्काले धामीझाँक्रीसमेत खोज्न पठाएको स्थानीयको भनाई छ । शब भेटेपछि प्रहरीलाई खबर गर्नुपर्ने वा तुरुन्त अस्पताल पठाउनुपर्नेमा खड्का परिवारले तेल दलेर बसेका थिए ।

साँझतिर मात्र पुतलीको शवलाई रंगेली अस्पताल लगिएको थियो । रंगेली अस्पतालले बालिकाको मृत्यु भइसकेको जनाएपछि पोष्टमार्टम गर्न कोशी अस्पाताल विराटनगरमा लगियो । उनको २३ गते डाँस खोलामा दाहसंस्कार गरिएको थियो ।

खेतबाट उठाएर ल्याएपछि तेल लगाउन कपडा खोल्ने क्रममा मृतक पुतलीको योनीबाट रगत बगिरहेको देखेको उनकी दिदी जानुका चौधरीको भनाइ छ । पुतलीको योनीमा रगत बगेको देखिएको र शवलाई तुरुन्त प्रहरी बोलाएर अनुसन्धान गराउनुको साटो तेल दल्ने, धामी खोज्न पठाउने काम खड्का परिवारले घट्नालाई अर्कोतिर मोड्ने प्रयास भएको पीडित पक्षको भनाइ छ ।

मृतक भेटिनुअघि खोज्ने क्रममा खड्काले पानीमा डुबेर वा सर्पले टोकेर मरेको हुनसक्ने भन्दै हल्ला चलाएका थिए ।