विराटनगर । विराटनगरस्थित मुख्यमन्त्री निवास अगाडि गाडीभित्र बेहोस भेटिएका जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय सुनसरीका सवारी चालकको मृत्यु भएको छ ।

मृतक उदयपुरको बेलका नगरपालिका घर भई विराटनगरको पुष्पलाल चोकमा डेरा गरि बस्दै आएका ३८ बर्षीय राजु ढकाल हुन् । मङ्गलबार अपरान्ह विराटनगर–३ स्थित मुख्यमन्त्री निवास अगाडि ढकाल बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयको खबरपछि घटनास्थल पुगेका बरगाछी प्रहरी चौकीको टोलीले ढकाललाई उद्धार गरि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुर्‍याएको थियो । अस्पताल पुर्‍याउने बित्तिक्कै चिकित्सकले चालक ढकाललाई मृत्यु घोषणा गरेको मोरङ प्रहरीका एस.पी सन्तोष खड्काले बताए । उनले झ्याल र ढोकाका सबै सिसा बन्द गरि गाडीभित्रको सिटमा सुतिरहेको अवस्थामा चालकलाई फेला पारिएको जानकारी दिए ।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई प्रहरीले उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पु¥यायो’, एस.पी खडकाले भने, ‘अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले चालकलाई मृत घोषणा गरेका हुन ।’

चालक ढकाल भने आफैले चलाउँदै आएको कार्यालयको प्रदेश १–०४–००१ झ ०००६ नम्बरको गाडीभित्र मङ्गलबार दिउँसो बेहोस अवस्थामा फेला परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।