पाँचथर । पाँचथर जिल्लाको सुख्खाग्रस्त क्षेत्र कुम्मायक गाउँपालिकामा डिप बोरिङ र तमोर लिफ्टिङ खानेपानी सन्चालन भएपछि बसाइँ सराई रोकिएको छ । गत वर्षबाट घर घरमा खानेपानी पुगेपछि बसाइँ जाने क्रम रोकिएको गाउँपालिका उपाध्यक्ष सीता रिजालले बताइन् । दिननै माया मारेर तमोर खोलामा एक गाग्रो पानी लिन जान बाध्य भएका स्थानीयको मुहारमा अहिले खुसी छाएको छ ।
कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले भन्छ्न् ‘पानीको उपलब्धता भएपछि बसाइँ जानेहरु पछुताउनु भएको छ । कोहिकोही त फर्किएर समेत पुरानै गाउँमा आउनुभयो । ‘
१६ हजारभन्दा बढी जनसंख्या भएको यो गाउँपालिमा सात वर्ष अघिबाट बर्षको ३ सय देखि ३ सय पचास जानाको दरले बसाइँ सरेर अन्यत्र गएको पाइन्थ्यो । यस्ले गर्दा बस्ती पातलिएका थिए भने गाउँपालिकाको जनसंख्याको स्थितिमा गिरावट आएको देखिन्थ्यो ।
पानीको समस्याका कारण सिम्म्रा, हात्तिपोखरी, हाङठुवा, आहाले क्षेत्रका बस्ती मानवविहीन हुने अवस्थामा पुगेका थिए । अध्यक्ष चेम्जोङ भन्छ्न् अहिले त्यहाँ केही बस्तीहरु मात्र छ्न् ।
सरकारले सुख्खा ग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको उक्त गाउँपालिकालाई सुरुमा प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा पानीको समस्या सामाधान गर्न डिप बोरिङ संचालन गरिएको थियो।
डिप बोरिङबाट मात्र गाउँपालिका लाई पर्याप्त पानी पुर्याउन नसकेपछि सघीय सरकार बाट तमोर लिफ्टिङ खानेपानी आयोजना समेत संचालित छ । पानीको समस्याका कारण खाद्यान्नको सङ्कट भएको यस क्षेत्रमा डिप बोरिङ र लिफ्टिङ खानेपानी आएपछि कृषि उब्जनी समेतले फड्को मारेको पाइन्छ ।

