विराटनगर । एक जना मजदुरकोे मृत्यु र अर्का एक गम्भीर घाइते हुनेगरि भएको दुर्घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कारवाही गर्त तथा पीडित परिवारलाई क्षतिपूर्ती दिन मजदुर संगठनहरुले माग गरेका छन् ।
अखिल नेपाल टे«ड युनियन महासंघ मोरङ, संयुक्त टे«ड युनियन समन्वय केन्द्र र अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ ले आइतबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग राखेका हुन् ।
बिहीबार राति विराटनगर–४ एयरपोर्ट रोडमा प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्कीले मदिरा सेवन गरि चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको थियो । कार्कीले चलाएको कारले पैदलयात्री मजदुरलाई ठक्कर दिँदा ३५ वर्षीया भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका–२ का २७ वर्षीया राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए । उनीहरु दुबै विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका मजदुर हुन् ।
घटना भएको तीन हुन भइसक्दा पनि घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ नगरी घटना ढाकछोप गर्न खोजिएकोप्रति मजदुर संगठनहरुले आपत्ती जनाएका छन् । ‘मृतकको परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्चसहित क्षतिपूर्तीको माग गर्दछौं,’ अखिल नेपाल टे«ड युनियन महासंघ मोरङका अध्यक्ष गंगाराम थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटना घटाउने कार्कीलाई यथाशिघ्र नियन्त्रणमा लिइ कानूनी कार्वाही हुनुपर्छ ।’
यसैगरि अखिल नेपाल टे«ड युनियन महासंघ प्रदेश १ का सहइञ्चार्ज उपेन्द्र रायले पनि मजदुरको मृत्यु र घाइते हुनेगरि भएको घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कडा कारवाही गर्न माग गरेका छन् । निषेधाज्ञाको समयमा अत्याधिक मदिरा सेवन गरेर कार्कीले चलाएको कार दुर्घटनापछि उनी फरार छन् ।
प्रहरीले घटनामा संलग्नको खोजी गरिरहेको बताएको छ । तर, अहिलेसम्म कारका चालक पहिचान नभएको प्रहरीको भनाईले घटनालाई ढाकछोप गर्ने खेल भएको आशंका गरिएको छ । दुर्घटना भएको कारण सांसद कार्कीको भएको खुलिसकेको छ । यो अस्थामा चालक पहिचान नभएको भन्नुले षड्यन्त्र देखिने मजदुरहरुको भनाइ छ ।
स्रोतका अनुसार सांसदपुत्र कार्कीसँग सवारी चालक अनुमतिपत्र छैन । सवारी चालक अनुमतिपत्रविना चलाएको सवारी साधनले दुर्घटना गराएर कसैको मृत्यु भएमा ज्यान मुद्दा लाग्ने कानूनी व्यवस्था छ । त्यसैले कार्कीलाई बचाउन चलखेल भइरहेको छ ।
प्रहरीका अनुसार कारमा सांसदपुत्र रोविनका एक साथीको लाइसेन्स भेटिएको छ । उनले कहिलेकाहि उक्त कार चलाउने गरेको बताइन्छ । घटना भएको दिन भने उनी कारमा थिएनन् । अहिले उनलाई नै दुर्घटना गराउने चालक बनाएर सांसद पुत्रलाई उन्मुक्ति दिने प्रयास भइहरको स्रोतले जनाएको छ । त्यसको लागि लाइसेन्स भएका व्यक्तिलाई चर्को दबाब दिइएको भएपनि उनले आफू संलग्न नरहेको घटना स्वीकार गर्न मानेका छैनन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।