लोड हुँदैछ...

मेनु

विपन्नलाई राहत दिन फुड बैंक सञ्चालन

विपन्नलाई राहत दिन फुड बैंक सञ्चालन

विराटनगर । लामो निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार समस्यामा परेको बेला विराटनगरमा फुड बैंक सञ्चालन भएको छ ।

शिखर अर्गनाइजेसनले विराटनगर ५ बरगाछीमा सञ्चालन गरेको फुड बैंकबाट निषेधाज्ञा प्रभावित विपन्न परिवारले राहत पाएका छन् ।

अघिल्लो वर्षको लकडाउनको समयमा स्थानीय सरकार र विभिन्न संघसंस्थाले राहत वितरण गरेपनि यसपटकको निषेधाज्ञामा कसैले राहत वितरण गरेका छैनन् । जसले गर्दा विपन्न परिवारलाई दैनिक गुजारामा समस्या भइहरेको बेला फुड बैंकमार्फत सहयोग थालिएको हो । शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लिका म्यानेजर सीताराम बर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारा दिएर अभियानका रुपमा फुडबैंक सञ्चालन गरिएको छ ।

दैनिक २ सय जनालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यका साथ फुड बैङ्कको स्थापना गरिएको बर्तौलाको भनाइ छ । ७ दिनसम्म सञ्चालन हुने कार्यक्रममा एक जनाले दुई किलो चामल, आधा किलो दाल र एक किलो नुन पाउने छन् । न्युन आर्थिक अवस्थाले गर्दा पीडामा परेको वर्गलाई लक्षित गरेर सञ्चालन गरिएको फुड बैङ्कमा लाइन लागेको छ ।

शिखर अर्गनाइजेसनअन्तर्गतका नटराज एग्रो प्रा.लि, तुलसी बहुमुखी सहकारी संस्था, गोर्खा टी एण्ड कफी, तुुलसी इण्डस्ट्रिज प्रा.लि र शिव शिखर एग्रो प्रा.लिले फुड बैङ्कको स्थापना गरेका हुनु । अर्गनाइजेसनका जनसम्पर्क अधिकृत राम लिम्बूका अनुसार सहयोग मिलेको खण्डमा अभियानलाई निरन्तरता दिने योजना छ ।

मोरङमा निषेधाज्ञा लगाइएको एक महिनाभन्दा धेरै भइसकेको छ । यो बेला सबै क्षेत्र ठप्प रहेकोले दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्नेहरु समस्यामा छन् । उनीहरुलाई दैनिक बिहान ७ देखि १० बजेसम्म फुड बैङ्कबाट खाद्यन्न प्रदान गरिनेछ ।

फुड बैङ्क बरगाछीस्थित तुुलसी बहुमुखी संस्थाको शो–रुममा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।