लोड हुँदैछ...

मेनु

एमालेका १५ नेताको संयुक्त वक्तव्य, राजेन्द्र महतोको अभिव्यक्तिको भत्र्सना

एमालेका १५ नेताको संयुक्त वक्तव्य, राजेन्द्र महतोको अभिव्यक्तिको भत्र्सना

विराटनगर । नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने उपप्रधानमन्त्री राजेन्द्र महतोको भनाईप्रति एमालेका १५ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनाललगायत एमालेका १५ नेताले आज संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ ।

‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, वक्तव्यमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपाल राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।’

१५ नेताले महतोको संविधान विरोधी उक्त अभिव्यक्तिबारे केपी ओलीबाट स्पष्ट पारिनुपर्ने माग गरिएको छ । महतोले उपप्रधानमन्त्रीको शपथ र पद भारपछि संचारकर्मीलाई अन्तरवार्ता दिँदै अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए ।

आज पनि महतोले सोही अभिव्यक्ति दोहोर्याएका थिए । आज जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।