विराटनगर । एक जनाकोे मृत्यु र अर्का एक घाइते हुने गरि विराटनगरमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा कार चालक रोविन कार्की नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
दुर्घटना हुँदाको समयमा कारमा सवार पाँच जनामध्ये चार जनाले प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोबिन भनिने रविन कार्कीले नै सवारी चलाउँदा दुर्घटना भएको प्रहरीलाई बयान दिएका छन् । उनीहरुको बयान पछि प्रहरी उनको खोजीमा जुटेको स्रोतको भनाइ छ ।
अनुसन्धानमा संलग्न जिल्ला प्रहरीका उच्च अधिकारीले कारमा सवार पाँच जनामध्ये चार जनाले दिएको बयानको क्रममा रोबिनले चलाएको बेला कार दुर्घटनामा परेको बताए ।
गत बिहीबार साँझ साढे ७ बजे विराटनगरस्थित एयरपोर्ट रोडको एसियाटिक होटल नजिक प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा एक जना भारतीय नागरिक ३५ वर्षीया मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङ कटहरी– २ का २७ वर्षीया राजकुमार राजवंशी घाइते भएका थिए । स्थानीयले पनि कार दुर्घटनाको समयमा रोविनले नै कार चलाएको बताएका थिए । मृतक र घाइते विराटनगर–४ स्थित न्यु एभरेष्ट स्टिल उद्योगका कामदार हुन् ।
शनिबारसम्म कारमा सवारको बयान सकिएपछि मोरङ प्रहरीका विशेष प्रहरी टोली घटनास्थलमा संलग्नलाई पक्राउका लागि खोजी सुरु गरेको छ । ‘कारमा सवारको बयान सकिएपछि उनीहरूले दिएको बयान अनुसार सवारी दुर्घटनामा संलग्नको पहिचान भएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिृकतले भने, ‘आइतबारसम्ममा घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरिसक्नेछौं । अहिले हामी घटनामा संलग्न प्रतिवादीको खोजी कार्यमा रहेका छौं ।’
होटल एडमायरमा मापसे गरेपछि भयो दुर्घटना
सुरक्षा स्रोतका अनुसार बिहीबार साँझ रबिनसहित ५ जनामध्ये केहीले विराटनगरस्थित मुनालपथमा रहेको होटल एडयारमा मदिरा सेवन गरेका थिए । सो होटलमा रबिनले मुस्ताङ बियर खाए । स्रोतको अनुसार उनीहरूले १७ थान सानो बोतलको मुस्ताङ बियर खाएपछि केही थान कार भित्र पनि राखेका थिए । त्यसपछि कारमा सवार भएर उनीहरू धरान–विराटनगर सडक हुँदै उत्तरतर्फ हानिए । तीव्र गतिमा हुइँकिएको कार अनियन्त्रित भई एयरपोर्ट लाईनमा २ जना पैदलयात्रीलाई ठक्कर दिएको प्रत्यक्षदर्शीको भनाइ छ । दुर्घटना भएपछि रबिन फरार छन् ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कारमा २ युवतीहरु पनि सवार थिए । दुर्घटना लगतै पाँचै जना कारबाट निस्किएर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘दुर्घटना भएपछि हामी भेला भएर घाइतेको उद्धारमा व्यस्त भयौं’, एक स्थानीयले भने, ‘त्यतिबेलै कार चालक युवासहित कार घटनास्थलमै छाडेर फरार भएछन् ।’
घटनामा संलग्नलाई पक्राउ गरेर छोडिन्छ : एसपी खड्का
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जघन्य प्रकृतिको घटनामा संलग्न प्रतिवादीलाई पक्राउ गरि छोड्ने बताए । ‘अहिले हामी अनुसन्धानको क्रममा छौं । कारमा सवारको बयानको सकिएकोले प्रतिवादीको पहिचान भइसकेको छ,’ एसपी खड्काले भने, ‘आइतबारसम्मा घटनाको नजिक पुगिसक्नेछौं ।’ प्रहरी घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न लागि परेको उनले बताए । ‘प्रहरी कसैको दबाव र प्रभावमा पर्दैन । घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरमा ल्याएर छोडछ,’ उनले भने, ‘एक, दुई दिन भित्रमा यो घटनमा संलग्न व्यक्ति पनि पक्राउ परिसक्नेछ ।’ प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरि सार्वजानिक गर्ने प्रतिवादीलाई कानुनी कारवाहीको दायरामा ल्याउने भएकोले अनुसन्धानमा शंका नगर्न आग्रह गरेको छ ।
धन्यवाद
यस.पि.साहब हामीलाई यहाँ प्रति बिश्वास छ ।