इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरका टोलबस्तीमै पुगेर कोरोना परीक्षण गरिरहेको छ ।
गाउँका जनताको सहजताका लागि टोलमै पुगेर घर–घरबाट निःशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिएकी छन् ।
अहिलेसम्म वडा नम्वर २, ३, ४, १२, १४ र १९ नम्बरमा समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरैजना विरामी भएको जानकारी पाउँनसाथ उपमहानगरको स्वास्थ्य टोली समुदायमै पुगेर परीक्षण गर्ने गरेको छ ।
परीक्षणसँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधीसमेत वितरण गरिन्छ । कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । समुदायमा कोरोना संक्रमण फैलन नदिन र संक्रमित भएमा होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने सावधानीका बारेमा पनि जानकारी दिने गरिएको छ ।
इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० बजेसम्म निःशुल्क पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने गरेको छ । दिनमा सय जना हाराहारीको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाउने गरिएको छ ।
प्रतिष्ठानलाई न्यूनतम शुल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निःशुल्क परीक्षणको व्यवस्था मिलाएको हो । परीक्षण गरेकै दिन रिर्पोट आउने गरेको छ स्वास्थ्य शाखाकी पुजा भट्टराईले जानकारी दिएकी छन् ।
प्रदेश ल्याबमा पनि परीक्षणको दायरा बढाउनका लागि प्रदेश सरकारसँग उपमहानगरले अनुरोध गरेको उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् । प्रमुख चौधरी र उपप्रमुख गौतमले स्वास्थ्यकर्मीको टोलीसहित संक्रमितहरुको घरमा पुगेर हौसलासमेत प्रदान गर्ने गरेका छन् ।
इटहरी अस्पतालले विज्ञहरु राखेर संक्रमितहरुसँग जुम छलफलसमेत गरेको छ । इटहरी उपमहानगरले कोभिड संक्रमित विरामीका लागि दुई वटा एम्वुलेन्स २४ घण्टै तैनाथ गरेको छ । यस्तै इटहरी रंगशालामा ५० वेडको अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

