संखुवासभा । संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा बिहीबार राति भएको आगलागीबाट एक दम्पतीको मृत्यु भएको छ ।

आगलागीमा परेर बाबुको किरियामा बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको हो ।

मादी ५ का वडा अध्यक्ष नेत्रप्रसाद दाहालका अनुसार राति १ बजे भएको आगलागीमा उनीहरुको मृत्यु भएको हो । आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको थियोभ भने श्रीमती कमलाको घटनास्थलमै मृत्यु भएको थियो ।

उनीहरु एक साता अगिाडि निधन भएका ८४ वर्षीय बुबा कृष्णप्रसादको किरियामा बसेका थिए । मृतक दम्पती किरियामा बसेको घरबाट केही काम छ भन्दै नजिकै रहेको आफ्नो घरतर्फ गएको थिए । निकैबेर नफर्किएपछि खोजी गर्ने गर्दा घरमा आगलागी भएको देखेपछि स्थानीयले ढोका फोर्दा राजेन्द्रबाबु आगोमा परेर जलेर घाइते भएको र कमलाको मृत्यु भइसकेको फेला पारिएको स्थानीयले बताएका छन् ।

भित्रबाट घरको ढोका लगाएको अवस्थामा आगालागी भएकाले आत्महत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योगराज खतिवडाको टोली त्यसतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बाबुको मृत्युपछि चार छोरा, चार बुहारी बुहारी र छोरीसहित १२ जना एकै घरमा कोरामा बसेका थिए ।