विराटनगर । दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय मोरङले लागू गरेको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले विराटनगरका ४० जना व्यापारीलाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीले विराटनगर महानगरपालिकाभित्र व्यापार व्यवसाय गर्ने ४० जना व्यापारीलाई बुधबार नियन्त्रणमा लिएको हो ।
निषेधाज्ञा उल्लंघन गरेर अटेरी गर्ने व्यापारीहरूलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । नियन्त्रणमा लिएका व्यापारीहरू अहिले मोरङ प्रहरी कार्यालय परिसरभित्र छन् । ‘निषेधाज्ञा उल्लंघन गरि अटेरी गरेर पसल खोल्ने व्यापारीलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी राईले भने, ‘अहिले उनीहरूलाई सम्झाइबुझाइ गरिने र पुनःअटेरी गरे कारवहीको दायरमा ल्याउनेछौं ।’
मंगलबार निषेधाज्ञाको उल्लंघन गरी पसल खोलेको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका ४ जना व्यापारीसँग जरिवाना असुल गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार उनीहरुलाई ३० हजार रुपैयाँका दरले जरिवाना गरिएको छ । प्रशासनले चुन्नी यादव, अजय राय, राजेश बर्मा, सुमन साहलाई जरिवाना गरेको हो ।
कोरोना महामारीको संक्रमण उच्च र जोखिम रहेको अवास्थामा पनि जारी निषेधाज्ञामा खोल्न नमिल्ने पसलहरु खोलेको भन्दै प्रशासनले उनीहरुलाई कारवाई गरेको छ । अहिले प्रदेश १ मा संक्रमण बढ्दो क्रममा रहेको छ । प्रदेशमा देखिएको संक्रमितमध्ये आधाभन्दा बढी मोरङका छन् । मोरङमा देखिएको संक्रमितमध्ये पनि विराटनगरमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।
विराटनगरमा महानगरपालिका भित्र मंगलबारसम्म ७ हजार ९५० जनामा कोरोना देखिएको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ५ हजार ४४७ रहेको महानगरपालिकाले जनाएको छ । महानगरमा १०३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
संक्रमण दर बढ्दै गएको कारण स्थानीय प्रशासनले मोरङमा निषेधाज्ञा थप कडाईका साथ कार्यान्यवन गर्ने जनाएको छ ।

