लोड हुँदैछ...

मेनु

कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग

कुटपिट गर्ने प्रहरीलाई कारवाहीको माग

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।

महामारीको रूपमा फैलिएको कोभिड १९ का विरामीको उपचारमा फ्रन्टलाइनमा रहेर खटिएको स्वास्थ्यकर्मीमाथि भएको कुटपिटमा संलग्न प्रहरीलाई कारवाहीको माग राख्दै बुधबार कोशी अस्पताल परिसरभित्र स्वास्थ्यकर्मी र चिकित्सकहरू आन्दोलित भएका हुन् ।

बुधबार राति ९ बजे ड्युटी सकेर घर जाने क्रममा विराटनगरको देवकोटा चौकमा कोशी अस्पतालमा कार्यरत सिनियर पाँचौ तहका अहेव अशोक राजवंशीलाइ दुई जना प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको कुटाइबाट स्वास्थ्यकर्मी चौधरीको खुट्टामा चोटपटक लागेको छ ।

कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गर्नुको साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा अस्पताल परिसरमा आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले ज्यान बचाउन खटिने स्वास्थ्यकर्मीमाथि सुरक्षा दिन बसेका प्रहरीले अमर्यादित तवरले कुटपिट गर्नु गम्भीर विषय भएको बताए । ‘फ्रन्टलाइनमा रहेर अहिले चिकित्सक र स्वास्थ्यकर्मी खटिएका छन् । कुन अवस्थामा आईरहेको व्यक्ति हो भनेर सामान्य सोधपुछ र पहिचान नलिकन स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु प्रहरीबाट गलत काम भएको छ,’ अध्यक्ष सिलवालले भने ।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत ध्यानाकर्षण गराएको छ । मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने बताएका छन् ।

स्वास्थ्यकर्मी माथि कुटपिट भएपछि बुधबार दिउँसो एसपी खड्का सहित कोशी अस्पतालमा चिकित्सकहरूसहितको उपस्थितमा बैठक बसेको थियो । बैठकमा स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने एसपी खड्काले जानकारी गराउनुभएको कोशी अस्पतालका मेसु डा. चुमनलाल दासले जानकारी दिएका छन् । प्रहरीबाट कुटिएका राजवंशीले घाउँजाँच गरेपछि जाहेरी दिन मोरङ प्रहरी कार्यालय जाने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।