बेडबाट लडेकी संक्रमित महिलाको मृत्यु

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बेडबाट लडेर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

उपचारको लागि भर्ना भएकी महिला सोमबार बेडबाट लडेर घाइते भएकोमा उनको मृत्यु भएको बिरामीका आफन्तलाई जानकारी दिएपछि आफन्तहरु आक्रोशित भएका छन् ।

सामान्य अवस्थामा बीपीको इमरजेन्सीमा जेठ ११ गते भर्ना भएकी सिराहाको गोलबजार ७ की ५५ बर्षीया महिलाको अस्पतालको बेडबाट लडेर घाइते भएपछि मृत्यु भएको हो । मृतकका ज्वाइँ धननारायण श्रेष्ठका अनुसार सुगर बढेपछि अस्पताल भर्ना गरिएकी उनलाई जेठ १३ गते कोरोना देखिएको भन्दै प्रतिष्ठानले कोभिड अस्पतालमा सारेको थियो ।

सोमबार दिउँसो ब्रिफिङको क्रममा डाक्टरहरूले बेडबाट लडेर घाइते भएको जानकारी गराएकोमा साँझ मृत्यु भएको जानकारी दिएको थियो । अस्पतालले उपचारमा चरम लापरबाही गरेकोले कारण सासुआमाको मृत्यु भएको भन्दै ज्वाई श्रेष्ठले छानबिन हुनुपर्ने माग गरेका छन् । सामान्य अवस्थामा भर्ना भएकी विरामी बेडबाट लडेर घाइते हुने अवस्था आउनुले लापर्वाही स्पष्ट ह्ुने आफन्तको भनाइ छ ।

‘हिजो आइतबार बेलुकीसम्म डाक्टरले नर्मल छ भनेको थियो । आज दिउँसो २ बजे काउन्सेलिङमा बेडबाट लडेर अलिकति चोट लागेको छ, गाह्रो छ भने’ श्रेष्ठको भनाइ छ, ‘फेरि ३ बजे लडेर नाक फुटेको छ, निधार फुटेको छ, आइसले सेकिरहेका छौं भने’ । तर, आपूmहरुलाई समयमा त्यसबारे जानकारी नदिएको र आईसियुमा उपचार नगरेको उनको भनाइ छ ।

दिउँसोसम्म बिरामीको अवस्था सामान्य रहेको जानकारी दिएका चिकित्सकले मृत्युको खबर गरेपछि आफन्तजन आक्रोशित भएका थिए । नेपाली सेनाको क्याप्टेन रहेका श्रेष्ठले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने, सिसीटिभी फुटेज हेर्न पाउनुपर्ने र कसरी बिरामी बेडबाट लडे र उपचार कसरी भयो भन्ने स्पष्ट पारिनुपर्ने माग गरेका छन् ।

आफन्तले आफ्ना माग पुरा नभएसम्म शव नबुझ्ने बताएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले घटनाबारे बुझेर मात्र प्रतिक्रिया दिने बताएका छन् ।

मङ्गलबार, १८ जेठ, २०७८, दिउँसोको ०२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर