विराटनगर । नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको २४ ड्रम पेट्रोलियम पदार्थ (इन्धन) सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिकाबाट बरामद गरेको छ।
ट्रकमार्फत तस्करी हुँदै गरेको अवस्थामा रतुवामाई ४ बाट २३ ड्रम डिजेल र एक ड्रम पेट्रोल बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ बटालीयन हेडक्वार्टर टंकीसिनवारीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले मे १ ख १५०९ नम्बरको ट्रकसहित शनिबार तस्करीको इन्धन नियन्त्रणमा लिएको हो । एउटा ड्रमभित्र लगभग २५० लिटर डिजेल रहेको बताइएको छ ।
तस्करीको ५ हजार ७ सय लिटर इन्धन बरामद भएको सशस्त्रले जनाएको छ । सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ इन्धन तस्करी गर्नेहरु ट्रक छाडेर फरार भएका थिए । चालकसहित अरु व्यक्ति भागेपछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा तस्करीको इन्धन बरामद भएको हो ।
प्रहरीका अनुुसार नेपाल–भारत सीमा नजिकबाट इन्धन बरामद भएपनि त्यसको बिला फेला परेको छैन। इन्धनलाई आवश्यक कारबाहीका लागि आइतबार विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।
प्रदेश १ मा डिजेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ ५ पैसा र पेट्रोलको १२१ रुपैयाँ ५ पैसा तोकिएको छ। नेपालमाभन्दा भारतमा डिजेल प्रतिलिटर ३९ रुपैयाँ २८ पैसा र पेट्रोल ३२ रुपैयाँ ६६ पैसा महँगोे पर्ने भएकोले तस्करी हुने गरेको छ ।
सीमावर्ती क्षेत्रमा सञ्चालित पम्पबाट पेट्रोलियम पदार्थको भारततिर तस्करी हुने गरेको छ ।


