विराटनगर । परिवर्तनका लागी हातेमालो नामक सामाजिक संस्थाले विराटनगरस्थित कोशी अस्पतालका कोरोना संक्रमित बिरामीको व्यवस्थापनमा सहयोग पुर्याउन लागी स्वयंमसेवक खटाएको छ ।
विगत ४ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्थाले ‘समाज परिवर्तन युवाको काँधमा’ भन्ने मुल नाराका साथ मंगलबारदेखि अस्पतालमा स्वयंमसेवक खटाएको हो । स्वयंमसेवकले अस्पतालमा उपचारका लागी आउने बिरामीसँग समन्वय गरि बिना झन्झट सेवा प्रवाहको व्यवस्था मिलाउने कार्य गर्ने संस्थाका अध्यक्ष विनोद परियारले बताए । उनले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल व्यवस्थापन समितिसँगको समन्वयमा स्वयंमसेवक खटाईएको जानकारी दिए ।
संस्थाले पछिल्लो समय नगरक्षेत्रभित्रका कोरोना संक्रमितको घर समेत निर्मलीकरण गर्दै आएको जनाएको छ । केहीदिन पछि उपचारका लागी अस्पताल आउने गरिब तथा विपन्न वर्गका बिरामीलाई निःशूल्क भोजनकोे व्यवस्था समेत मिलाईने संस्थाको दाबी छ ।