विराटनगर । गोली प्रहारबाट गम्भीर घाइते भएका नेकपा माओवादी केन्द्र कपिलबस्तु जिल्ला सदस्य दीपक पाण्डेको गएराति मृत्यु भएको छ । गत बुधबार उनीमाथी सँगै मोटरसाइकलमा बसेका साथीले गोली हानेर घाइते बनाएका थिए ।
रुपन्देहीमा उपचार गराइरहेका पाण्डेको अवस्था बिग्रिएपछि उनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाण्डौ ल्याइएको थियो । काठमाण्डौमा उपचाररत पाण्डेको राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए । उनको पेट र शरीरका विभिन्न भागमा गोली लागेको थियो।
उनलाई सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।
पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ३९ वर्षे ओमप्रकाश यादव र वडा नम्बर २ का ३३ वर्षे साकिर अलीलाई नियन्त्रणमा लिएको छ । ओमप्रकाश जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्। यादवले व्यक्तिगत रिसइबीका कारण गोली प्रहारको योजना बनाएको स्वीकारेको प्रहरीले जनाएको छ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।