प्लाज्माको माग आपूर्ति गर्न विराटनगरमा निःशुल्क एन्टिबडी परीक्षण सुरु

विराटनगर । कोरोना संक्रमितको उपचारका निम्त्ति आवश्यक प्लाज्माको माग आपुर्ति गर्न विराटनगर महानगरपालिकाले निःशुल्क एन्टिबडी परीक्षण थालेको छ ।

महानगरले बुधबारदेखि कोरोनामुुक्त भएका व्यक्तिहरुको रगतमा प्लाज्मा भए/नभएको पहिचान गर्न एन्टिबडी परिक्षण थालेको हो । एन्टिबडी परिक्षणका लागी बुधबार पहिलो दिन महानगरले १० जनाको रगतको नमुना संकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएको छ । जसमा ओ पोजिटिभ ७ जना, ए पोजिटिभ २ जना र ए नेगेटिभ रगत समुहका १ जनाको रगत संकलन गरिएको छ । प्रयोगशालाबाट प्राप्त नतिजाको आधारमा संक्रमणमुक्त व्यक्तिको प्लाज्मा संकलन गरिने महानगरले जनाएको छ । बिशेषगरि गत चैत्र र बैशाखमा संक्रमणमुक्त भएका व्यक्तिहरुको एन्टिबडी परिक्षण थालिएको महानगरका जनस्वास्थ्य निरिक्षक दिलीप कुमार यादवले बताए । उनले प्राप्त नामावली अनुसार एन्टिबडी परिक्षणका निम्त्ति बिहीबार २० जनाको रगतको नमुना संकलन गरिने जानकारी दिए ।

महानगरपालिकाले संक्रमित व्यक्तिको उपचारमा सहयोग पुर्‍याउन कम्त्तिमा ५० जनाको प्लाज्मा संकलन गर्ने तयारी गरेको छ । जसमा बिशेषत: एबी नेगेटिभ, ए नेगेटिभ र बी नेगेटिभ रगत समुहको प्लाज्मा संकलनलाई प्रमुख प्राथमिकतामा राखिएको महानगरका स्वास्थ्य महाशाखा संयोजक रमेश कार्कीले बताए । उनले हाल सोही रगत समुहको प्लाज्माको माग उच्च रहेको स्पष्ट पारे ।

हाल महानगरले भने एन्टिबडी परिक्षणको आधारमा संकलन गरिने प्लाज्मा विराटनगरस्थित रक्तसञ्चार समुहमा जम्मा गर्ने योजना बनाएको छ । कोभिडका बिरामीलाई पनि ब्लड बैंकसँगकै समन्वयमा प्लाज्मा उपलब्ध गराईने महानगरको तयारी छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिको शरीरमा संक्रमणमुक्त भएको ३ देखि ४ हप्तामा एन्टिबडी निर्माण हुने गर्दछ ।

एन्टिबडीले करिब ३ महिनासम्म कोभिड–१९ सँग लडन मद्दत पुर्‍याउँछ । तर संकलित प्लाज्मा ब्लड बैंकमा स्टोर गरिसकेपछि कोभिडका बिरामीलाई ६ देखि ८ महिनाको अवधिसम्म पनि प्लाज्मा उपलब्ध गराउन सकिने महानगरका स्वास्थ्य महाशाखा संयोजक कार्कीको भनाई छ ।

‘एन्टिबडी परिक्षण पश्चात प्राप्त नतिजाको आधारमा हामीले प्लाज्मा संकलन गछौं र संकलित प्लाज्मा ब्लड बैंकमा जम्मा गर्छौ’, उनले भने, ‘ब्लड बैंकमा प्लाज्मा जम्मा गरिसकेपछि ६ देखि ८ महिनासम्म यसको प्रभावकारितामा कुनै कमी आउँदैन । सहजै उपलब्ध गराउन सकिन्छ ।’

पछिल्लो समय विराटनगरमा नयाँ भेरिएन्टको कोरोना संक्रमणका कारण गम्भीर प्रकृतिका बिरामीहरु बढ्दै गएपछि प्लाज्माको माग पनि बढ्दै गएको छ । मोरङकै ३ ठुला कोभिड अस्पतालमा दैनिक दर्जन बढी बिरामीलाई प्लाज्माको आवश्यकता पर्ने गरेको महानगरले जनाएको छ ।

बुधबार, ०५ जेठ, २०७८, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर