विराटनगर । आगामी पाँच दिन नेपालको मौसम खराब रहने भएको छ । जल तथा मौसम विभाग मौसम पूर्वानुमान शाखका अनुसार अरब सागरमा विकसित भएको चक्रवातको प्रभाव शनिबारसम्म नेपालमा देखिने छ ।
सोमबारसम्म आन्तरिकरुपमा विकसित वायू प्रणालीका कारण देशका विभिन्न भागमा वर्षा र मौसममा बदलाव जारी रहेकै बेला सोमबारदेखि अरब सागरमा विकसित भएको टाउ टेई नामक चक्रवातको असर नेपाली आकासमा देखा परेको हो ।
मंगलबार बिहानैदेखि नेपालको आकाशमा बादल ढाकिएको र पश्चिम तर्फबाट क्रमस मौसम खराब हुँदै जाने देखिएको बताइएको छ । बुधबारबाट देशका विभिन्न ठाउँमा हल्का तथा मध्यम स्तरको वर्षा हुने अनुमान मौसम पूर्वानुमान शाखाले गरेको छ ।
देशको पहाडी भूभाग तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
बुधबार दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना छ । उच्च हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना छ।
बिहीबार कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।

