प्रेस युनियन सुनसरीद्वारा मोबाइल डाक्टर सेवा

इटहरी । सुनसरीमा रहेका कोरोना संक्रमित पत्रकारलाई सोमबार डाक्टर, नर्ससहितको टोलीले घरमै पुगेर औषधी तथा निःशुल्क परामर्श सेवा दिएका छन् । यो सेवाले आफूहरुको आत्मबल बढेको कोरोना संक्रमितको भनाइ छ ।

इटहरीका पुराना पत्रकार कृष्ण भट्टराई ‘भुल्केली’ ले घरमै आइसोलेट भएर बसेको बेला डाक्टर, नर्ससहित औषधी र परामर्श दिँदा आफूलाई कोरोनाबिरुद्ध लड्न आत्मबल पुगेको बताए ।

नेपाल प्रेस युनियन सुनसरीले सोमबारदेखि जिल्लामा रहेका संक्रमित पत्रकारहरुको घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको छ । सोही सन्दर्भमा संक्रमित पत्रकार भट्टराईलले भने, ‘हौशला र आत्मबल भयो भने कोरोनालाई सहज रुपमा जित्न सकिनेरहेछ । घरमै आइसोलेट भएर बस्दा पनि केही गाह्रो भयो भनेपनि उत्प्रेरणा र आत्मबलले कोरोना जितिने रहेछ ।’

प्रेस युनियन सुनसरीले मेडिकल अधिकृत डा. अमितकुमार खतिवडा, स्टार्फ नर्स किरण चौधरी, मेडिकियर पोलिक्लिनिक कालाबन्जरका अध्यक्ष तथा औषधी विज्ञ घनेश्वर शर्मासँगको सहकार्यमा जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर मोबाइल डाक्टर सेवा सुरु गरेको युनियका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सुनसरीका दुई सय ६० जना सञ्चारकर्मीको प्रेस युनियनले कोरोना बीमा गरेको थियो । ती मध्ये ३० जना सञ्चारकर्मीहरुलाई जनही एकलाखका दरले रकम समेत हस्तान्तरण गरिसकिएको छ ।

यसपटक दोस्रो चरणको भेरियन्ट आएपछि पनि झण्डै एक दर्जन पत्रकार संक्रमित भएकाले उनीहरुलाई कोरोना जित्नका लागि आत्मबल बढोस् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको उनले बताए ।

‘हामीले संक्रमित पत्रकारलाई हौसला र आत्मबल बढोस् भनेर डाक्टर, नर्ससहित घरमै गएर औषधी दिने तथा परामर्श दिने अभियान सञ्चालन गरेका छौँ,’ उनले भने, ‘कोरोना महामारीको चपेटामा पत्रकारिता क्षेत्र पनि अछुतो रहन नसकेको र यसले पारेको नकारात्मक प्रभाव चिर्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।’

डा. अमितकुमार खतिवडाले कोरोना संक्रमित मानिसलाई हौसला र आत्मबल बढाउनका निम्ति परामर्श दिने गरेको बताए । उनले भने, ‘यसबेला धेरैजसो मानिसहरु मानसिक रुपमा कमजोर भएका छन्, त्यतिकै पनि त्रासमा बाँचरिहेका छन्, यस्तो समयमा सकारात्मक परामर्शले पनि ठूलो समस्या समाधान हुनसक्छ ।’ उनले अहिले नकारात्मक समाचारहरु मात्रै आएको, महामारीको त्रास फैलिएको र मानसिक रुपमा मानिसहरु कमजोर भएकाले निःशुल्क औषधी, परामर्श दिएको बताए ।

सोमबार, ०३ जेठ, २०७८, दिउँसोको ०४:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर