विराटनगर । कोरोना संक्रमितको संख्या अत्याधिक भएपछि सुनसरीमा जेठ १५ गतेसम्म निषेधाज्ञाको अबधि थप गर्दै घरबाहिर हुने मानवीय गतिबिधिमा कडाई गरिएको छ ।
निषेधाज्ञाको अबधि थप भएसँगै निषेधाज्ञा उल्लंघनलाई रोक्न शनिबारबाट जिल्लामा नेपाली सेनासमेत परिचालन गरिएको छ।
निषेधाज्ञा कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए। धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको हो ।
लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको प्रजिअ ढकालको भनाई छ। लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्नेछन् ।
सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्नेछ। यसअगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको हो ।
जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ। पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गर्ने जेलसमेत हाल्ने निर्देशन प्रशासनले जारी गरेको छ ।
निषेधाज्ञाको उल्लंघन गर्ने व्यक्तिउपर सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत भए गरेको कसुरमा १ महिना सम्म कैद वा १ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । ऐन अन्तर्गत काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले अब निषेधाज्ञा उल्लंघन गर्नेलाई सम्झाईबुझाइ नगरी सिधा कारबाही गर्ने चेतावनी दिएका छन् ।

