तीब्र गतिमा फैलिँदै कोरोना : प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो

प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमणकै कारण ६ सय १५ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयले दिएको पछिल्लो तथ्यांक अनुसार कोरोनाका सक्रिय संक्रिमितको संख्या १० हजार ३०१ जना पुगेको हो ।

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरको सुरुवातसँगै प्रदेश १ मा सङ्क्रमित हुनेको सङ्ख्या पनि उच्च दरमा बढेको यो तथ्यांकले देखाउँछ । प्रदेश १ मा वैशाखको पहिलो सातासम्म दुई अङ्कमा सिमीत रहेको सङ्ख्या अहिले दैनिक हजारको संख्यामा पुग्न लागेको छ । आजमात्रै सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या १ हजार ३९ रहेको छ ।

दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । त्यसमध्ये सबैभन्दा बढी मोरङमा ४०५ रहेको छ भने झापामा २५७ र सुनसरीमा १४२ रहेको छ । प्रदेश राजधानी विराटनगरमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । सरकारले निषेधाज्ञा लागू गरेको दुई हप्ता पुग्न लाग्दा पनि संक्रमितको संख्यामा कमी आउनुको साटो बढिरहेको छ । विराटनगरमा मात्रै पछिल्लो २४ घण्टामा २ सय ९६ जना नयाँ संक्रमित थप भएका छन् । संक्रमितको तुलनामा डिस्चार्ज हुनेको संख्या भने न्यून रहेको छ । पछिल्लो २४ घण्टामा १५७ जना मात्रै संक्रमणबाट मुक्त भएका छन् । यस्तै प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमणकै कारण ६ सय १५ जनाको मृत्यु भइसकेको छ ।

वैशाख १ गतेसम्म यस प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३० हजार ५१६ जना रहेको थियो । अहिले त्यसमा वृद्धि भएर बुधबारसम्ममा ४० हजार ८१७ जनामा सङक्रमण पुष्टि भइसकेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहिबार, ३० बैशाख, २०७८, रातीको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर