प्रदेश १ सरकारको निर्णय : दुई हजार बेड थप्न सिसिएमसीलाई प्रस्ताव गर्ने

विराटनगर । प्रदेश १ सरकारले प्रदेशभरीका ठूला अस्पतालहरुमा कोरोना उपचारका लागि २ हजार १ सय बेडको थप्नका लागि सिसिएमसीलाई प्रस्ताव गर्ने भएको छ ।

प्रदेश १ मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विराटनगरमा बुधबार बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि प्रदेश स्तरीय कोरोना भाइरस सङ्कट व्यवस्थापन समिति (पिसिसिएमसी)ले प्रस्ताव गरी नेपाल सरकार सीसीएमसी समक्ष पठाउने निर्णय गरेको हो ।

‘वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, नोवल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर वी.एण्ड सी. अस्पताल, विर्तामोडमा कम्तिमा ५००÷५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टि स्पेसियालिटी अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पि.सी.सी.एम.सी.बाट नेपाल सरकार सि.सि.एम.सी. समक्ष प्रस्ताव गरी पठाउने,’ निर्णयमा उल्लेख छ, ‘साथै निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलव्ध गराई गुणस्तरिय सेवा प्रवाह गर्ने वातावरणका लागिसमेत नेपाल सरकार समक्ष लेखि पठाउने ।’

‘वर्तमान जटिल परिस्थितिमा जनजीवनलाई न्यूनतम मात्र असर पर्ने गरी सीमानाका र आन्तरिक आवगमन एवं व्यापार व्यवसायलाई नियन्त्रित रुपमा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण होल्डिङ सेन्टर, आइसोलेसन सेन्टरलगायतका कार्यहरुमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले नेपाल सरकारको नीति एवं निर्देशनसँग सामञ्जस्यता कायम हुने गरी स्थानीय निकायहरुसँगको समन्वय र सहकार्यमा तत्काल गर्नुपर्ने कार्य र त्यसका लागि स्रोत, साधन, जनशक्ति परिचालनको आवश्यकता र औचित्यसहितको नयाँ कार्ययोजना तर्जुमा गरी तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सोको अध्यावधिक जानकारी मुख्यमन्त्री समक्ष पेश गर्ने,’ अर्को निर्णयमा उल्लेख छ ।

बैठकमा विराटनगर महानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखज्यूहरु, निजी तथा सरकारी अस्पतालका सञ्चालकलगायतका सरोकारवालाको उपस्थिति थियो ।

बुधबार, २९ बैशाख, २०७८, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर