विराटनगर । कडा लक्षण भएका कोरोना संक्रमित बढेर अस्पतालको शैय्या भरिएर विरामीले उपचार पाउन छोडेपछि विराटनगरस्थित कोशी अस्पतालले कोभिड अस्पताल संचालनमा ल्याउने भएको छ ।
अस्पताल परिसर भित्र छुट्टै भेन्टिलेटरसहितको ६१ शैय्याको कोभिड अस्पताल संचलानमा ल्याउने तयारी गरिएको हो । ५ शैय्याको भेन्टिलेटरसहितको आइसियू, २४ बेडको एचडीयू, ३२ अक्सिजनको सहितको बेड संचालनमा ल्याउने भएको कोशी अस्पतलाका सुपरिटेन्डेन्ड (मेसु) डा. चुमनलाल दासले जानकारी दिए । अस्पतालको मेडिकल कक्ष र ग्राउण्ड फ्लोरको पोस्टमेटल वार्डलाइ कोभिड अस्पतालको रूपमा संचालन गर्ने तयारी गरिएको छ ।
‘अहिले निर्माण कार्य धमाधम भइरहेको छ,’ मेसु दासले भने, ‘एक साताभित्र संचालनमा ल्याउने तयारी गरिएको छ । अहिले तिव्र गतिमा काम भइरहेको छ ।’ उनका अनुसार मेडिकल कक्ष भित्रको चार वटा कोठा रहेका छन् । यी सबै कोठमा अक्सिजनसहितको बेड राखेर कोरोना संक्रमितको उपचार थपानी उनले बताए । ‘अहिले सीसी टिभी, वाइरिङ, शैय्यामा पु¥याउन अक्सिजनको पाइपे जडानको काम र वेड व्यवस्थापनको काम भइरहेको छ,’ उनले भने, ‘३/४ दिन भित्रमा काम सकिन्छ । त्यसपछि कोभिड अस्पताल सुरू हुनेछ ।’
कोभिड अस्पताल संचालनको लागि भेन्टिलेजर आवश्यक उपकरणहरू आइपुगेको छ । ‘संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयदेखि उपकरणहरू पढाइदिइसकेको छ,’ मेसु दासले भने, ‘संरचना तयार भएपछि जडान गर्न मात्र बाँकी छ ।’ अहिले कोशी अस्पतालमा कार्यरत चिकित्सकको टोलीले संक्रमितको उपचार गर्नेछन् । ‘जनशक्ति अपुग भए थप गरिनेछ,’ मेसु दासले भने ।
कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमितको संख्या अहिले बढेपछि विराटनगरमा संचालित कोभिड अस्पतालहरु भरिन थालेको छ । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्ने विरामीले बेड पाउन छोडेपछि पालो कुर्नुपर्ने अवस्था रहेको छ । त्यही भएर संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल भित्र छुट्टै कोभिड अस्पताल संचालनको तयारी सुरू गरिएको हो । अहिले प्रदेश १ मा दैनिक थपिएको संक्रमित मध्ये आधाभन्दा बढी मोरङको रहेका छन् ।
त्यसमध्ये पनि प्रदेश १ को राजधानी विराटनगरमा धेरै संक्रमित भेटिन थालेका छन् । कोशी अस्पतला भित्र बन्दै गरेको कोभिड अस्पतलाको मंगलबार निरीक्षण पनि गरिएको छ । विराटनगर महानगरपालिका प्रमुख भिम पराजुली, अस्पतालका मेसु चुमनलाल दासलगायतले बन्दै गरेको कोभिड अस्पतालको निरीक्षण गरेका हुन् ।