कोभिड हस्पिटलमा संसदीय समितिको अनुगमन, सरकारको भूमिका कमजोर

विराटनगर । प्रदेश १ प्रदेशसभाको सामाजिक विकास समितिले मोरङका ३ ठूला कोभिड अस्पतालहरुको अनुगमन गरेको छ ।

पछिल्लो समय उपचारको अभावमा संक्रमितहरुले ज्यान गुमाउनु परेको जनगुनासो बढेपछि सोमबार समितिले अस्पतालहरुको अनुगमन तथा निरीक्षण गरेको हो । समितिले विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र बुढीगंगा-२ स्थित विराट मेडिकल कलेजद्वारा सञ्चालित कोभिड अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा समितिले कोभिड अस्पतालहरुको अवस्था, समस्या तथा चुनौतीहरुबाारे जानकारी लिएको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले कोभिड-१९ उपचार केन्द्र दुरुस्त अवस्थामा रहेको बताउँदै पुरानो ब्लकलाई पनि सञ्चालन गर्नुपर्ने बताए । ‘संक्रमित बिरामीहरुको चाप दिनानुदिन बढ्दै गईरहेकाले यो अस्पताल पनि प्याक हुने अवस्थामा छ,’ उनले भने, ‘थप संक्रमितको उपचारका लागि दक्षिणतर्फको ब्लकमा पनि आवश्यक जनशक्ति थपेर सय बेड सञ्चालन ल्याउनुपर्छ ।’

कोरोना संक्रमितको सघन उपचारका लागी विराटनगरस्थित नोबेल मेडिकल कलेजले पनि १ सय ९७ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । ६२ वटा आई.सि.यु र ७१ वटा भेन्टिलेटर बेडसहित सञ्चालनमा आएको सो अस्पताल पनि बिरामीहरुले भरिएको अनुगमन टोलीले जनाएको छ । नोबेलमा दैनिक ३० जनाभन्दा बढी गम्भीर प्रकृतिका संक्रमितहरु उपचारका लागि आउने गरेपनि बेड नपाएर फर्किने गरेको कलेजका निर्देशक डा. राजेश नेपालले समितिलाई जानकारी गराएका थिए । प्रदेशमा १५ सय बेडको कोभिड अस्पताल सञ्चालनको आवश्यकता देखिएको उनले सुझाव दिएका छन् ।

हाल प्रदेश १ मा ७ सय २७ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । तर, अब त्यसले थेग्नसक्ने वातावरण नरहेकोले ७५० बेड तत्काल थप गर्न समितिले पहल गर्नुपर्ने उनको सुझाव थियो । कोरोना महामारीको रोकथाम तथा न्युुनीकरणमा तुलनात्मक रुपमा प्रदेश सरकारको भुमिका कमजोर देखिदा हाल संक्रमणको जोखिम झनै बढेर गएको अस्पताल सञ्चालकहरुले बताएका छन् ।

सरकारको भुमिका शुन्य देखिँदा प्रदेशमा एक अंकमा रहेको मृत्युदर दुई अंकमा पुगेको विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । ‘अहिले हाम्रो अस्पतालमा संक्रमितहरुको मृत्युदर ३ प्रतिशत छ’, उनले भने, ‘सरकारको रवैया यही रहने हो भने अबको हप्ता दिनभित्रै मृत्युदर झन वृद्धि बढ्छ ।’

बुढीगंगा-२ स्थित विराट मेडिकल कलेजले पनि २३० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । गम्भीर प्रकृतिका बिरामीहरुको चाप दिनानुदिन बढ्दै गईरहेको अवस्थालाई दृष्टिगत गर्दै अस्पतालले सोमबारबाटै ५० बेड थप गरेको जनाएको छ ।

सामाजिक विकास समितिका सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अस्पतालहरुमा देखिएका समस्या र चुनौतीहरुलाई मध्यनजर गर्दै प्रदेश सरकारलाई आवश्यक निर्देशन गरिने बताए । उनले प्रदेशमा थप कोरोना अस्पतालहरु सञ्चालनमा ल्याउने तथा औषधीहरुको कालोबजारी नियन्त्रण गर्ने विषयमा पनि पहल गरिने जानकारी दिए ।

समितिकी सभापति सरिता थापासहित कृष्णकुमारी राई, सावित्राकुमारी रेग्मी, निरन राई, झलकबहादुर मगर र गणेशकुमार काम्बाङ्ग लगायतका सदस्यहरुले कोभिड अस्पतालको अनुगमन तथा निरीक्षण गरेका थिए ।
फोटो

सोमबार, २७ बैशाख, २०७८, रातीको ०८:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर