काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा संसदमा विश्वासको ४३ मत अपुग भएको छ । यो सँगै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आजका लागि बैठक बोलाएकी हुन् ।
सोही अनुसार आज प्रधानमन्त्री ओलीलाई संसदको विश्वास छ भन्ने प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । उक्त मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत आउँदा विपक्षमा १२४ मत प्राप्त भयो । यस्तै १५ मत तटस्थ देखिएको छ । आजको संसदको मतदान प्रक्रियामा जम्मा २३२ सांसद सहभागी भएका थिए ।
प्रधानमन्त्रीको उक्त पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक हुन्थ्यो । उनलाई आफ्नै पार्टी एमालेका सांसदले समेत मत दिएनन् ।
मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाइएको थियो भने पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइएको थियो।
प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतको प्रस्तावमा एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसदलाई मताधिकार रहेको थियो ।