संसदमा ठाकुर र यादवको दोहोरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनेबारे जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले संसदमा फरक फरक धारणा व्यक्त गरेका छन् ।

संसदको चौंथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलाीलाई विश्वासको मत दिने विषयमा तटस्थ निर्णय गरेको छ । यो निर्णयको व्याख्या गर्दै प्रतिनिधिसभा संसदको विशेष अधिवेशनमा अध्यक्ष ठाकुरले आफ्नो पार्टीका सांसदहरु तटस्थ बस्ने बताए भने उपेन्द्र यादवले विश्वासको मतको विपक्षमा मत दिने बताए ।

जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कतिपय कुरामा प्रशंसा गरे भने कतिपय कुरामा असन्तुष्टि पनि व्यक्त गरे । तर, ठाकुरपछि बोलेका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले ओली सरकारको चर्को आलोचना गरे । उनले ओली सरकारले कोरोनाको दोस्रो लहर फैलाउन उक्साएको र बजेट डिजाइन नभएका आयोजनाका शिलान्यास र काम पूरा नभएका आयोजनाको उद्घाटन गरेको बताए।

उनले प्रधानमन्त्री स्वंयलाई संसदप्रति विश्वास नभएकाले कसरी विश्वासको मत माग्नुहुन्छ भनेर प्रश्नसमेत गरे। अन्तिममा उनले आफूहरूले विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए। उनले आफूहरूले संसदमा ओली सरकारको विकल्प पनि खोज्ने बताए।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने घोषणा गरेका गरिरहँदा अर्का अध्यक्ष महन्थ ठाकुरले भने अहिलेको अवस्थामा आफुहरु विश्वासको मतको प्रस्तावको पक्षमा पनि नभएको र विपक्षमा पनि नभएको भन्दै तटस्थ बस्ने बताए ।

​ओलीले विश्वासको मत लिनकै लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै यादवले आफूहरु नयाँ सरकार बनाउने बाटोमा अघि बढिसकेको पनि बताए । दुई पार्टीका अध्यक्षको फरक फरक अभिव्यक्तिले पार्टीभित्रको विवाद संसदमै पनि छताछुल्ल देखिएको छ ।

सोमबार, २७ बैशाख, २०७८, दिउँसोको ०४:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर