लोड हुँदैछ...

मेनु

सरकारकै संवेदनहीनताका कारण कोरोना संक्रमणको दर उच्च भएको आरोप

भरपर्दो उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस संसदीय दलको माग

भरपर्दो उपचारको व्यवस्था मिलाउन नेपाली कांग्रेस संसदीय दलको माग

विराटनगर । नेपाली कांग्रेस संसदीय दलले प्रदेश १ भरिका निजी तथा सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गरि सञ्चालनमा ल्याउन माग गरेको छ ।

आईतबार विराटनगरस्थित प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै संसदीय दलले यस्तो माग गरेको हो । दलले सरकारी नितिका कारण संक्रमितहरु अस्पतालै नपुगी ज्यान गुमाउन बाध्य रहेको अवस्थालाई दृष्टिगत गर्दै प्रदेशमा भरपर्दो उपचारको व्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारको संवेदनहीनताका कारण प्रदेशमा कोरोना संक्रमणको दर उच्च भएको भन्दै उपचारको यथोचित प्रबन्ध मिलाउनुपर्ने बिषयमा जोड दिएका छन् ।

हाल सरकारले प्रदेशका ६ ठुला अस्पतालहरुमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । तर धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हकमा सरकारले १५० बेडको झुठो प्रचार गरि ३० मात्र सञ्चालन ल्याएको संसदीय दलका प्रमुख सचेतक कार्कीको आरोप छ । ‘बिपी प्रतिष्ठानलाई सरकारले १ सय ५० बेडको कोरोना अस्पताल भनी झुठो प्रचारबाजी ग¥यो’, उनले भने, ‘तर हाल ३० बेड मात्र सञ्चालनमा छ । त्यो पनि भरिएको छ । आम नागरिकले गेटबाटै फर्किनुपर्ने र बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।’

अहिले प्रदेश सरकारको व्यवस्थापनमा रहेको मेची अस्पताल र कोभिड–१९ उपचार केन्द्र पनि संक्रमितहरुले भरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । दलका अनुसार हाल यी दुई अस्पतालहरुमा आई.सि.यु १ सय ४०, एच.डी.यु ८४, भेन्टिलेटर १०, पि.आई.सि.यु ६ र एन.आई.सि.यु ३ र अक्सिजनसहितको ३ सय ९७ बेडको व्यवस्था छ । तर सरकारले भने अनुसारको शैया, भेन्टिलेटर र आई.सि.यु.हरु पनि पुर्ण क्षमतामा सञ्चालनमा नरहेको दलको दाबी छ ।

सरकारले समयमै आफ्नो दायित्व बोध नगर्दा प्रदेशमा कोरोना संक्रमणले भयावह रुप लिएको दलका प्रमुख सचेतक कार्कीको भनाई छ । प्रदेश १ मा बैशाख १७ गते ३३.३० प्रतिशतमा रहेको कोरोना संक्रमण दर बैशाख २५ गतेसम्म आईपुग्दा वृद्धि भएर ४९.२३ प्रतिशतमा पुग्नु सरकारका लागी लाजको बिषय भएको उनको तर्क छ । सरकार सत्ताको मोलमोलाईमा लागिरहेकै कारण आम नागरिकले उचित उपचारको अभावमा होम आईशोलेसनमै ज्यान गुमाउनुपरेको उनको आरोप छ ।

कोरोना महामारीका बेला सरकार निष्क्रिय भएको भन्दै उनले सरकार खोपीमा बसेर कुर्सी जोगाउने कार्यमा व्यस्त देखिएको बताएका छन् । कोरोना महामारी सरकारका लागी पैसा कमाउने मेलो भएको उनको दाबी छ । ‘कोरोनाको खोपदेखि औपधीको डोजसम्म कमिशनको खेल भएको छ’, उनले भने, ‘अघिल्लो पटक प्रधानमन्त्रीको संरक्षणमा ओम्नी समुह लगायतले गरेको अपराध यसपटक पुनः केही ठुला व्यापारीहरुले गर्दैछन् ।’

संघीय सरकार अपराधी, तस्कर र बिचौलियाहरुको जालोमा रहेको संसदीय दलको आशङ्का छ । यस्तो अवस्थामा प्रदेश सरकार पनि संघीय सरकारको लाचार छायाँ बनेर बसेको नेपाली कांग्रेस संसदीय दलको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds