उर्लाबारी । मोरङको उर्लाबारी एक जना सुनचाँदीको कारोबार गर्ने व्यापारी सर्वसाधरणको करोडौं रूपैयाँ लिएर फरार भएका छन् ।
आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको करोडौं रूपैयाँ लिएर उर्लाबारी नगरपालिका–६ डिबि मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक राजेश भनिने गोपाल गौतम फरार भएका हुन् ।
पीडितहरूका अनुसार उर्लाबारी तीन सय जना बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएको बताएका छन् । उर्लाबारी–१ का पदम भण्डारीले १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ गौतमको सुन पसलमा २ रुपैयाँ प्याज पाउने सर्तमा जम्मा गरेका थिए । उनले उक्त रकम जम्मा गरेपछि गौतमले पासबुक दिएका छन् । मजदुरी गरेर परिवार पाल्दै आएका भण्डारीले घर बनाउने पैसा ब्याजमा लगाएका हुन् । ‘खाइ नखाइ कमाएको पैसा राम्रो ब्याज आउने भएपछि नियमित कारोबार गर्दै आएको नजिकको साथीको सुनपसलमा पैसा ब्याजमा लगाएको थिए,’ भण्डारीले भने, ‘सुरूवातमा ब्याज पनि दिइयो । त्यसपछि कारोबार राम्रो गर्ने रहेछ भनेर १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ जम्मा गरे । मेरो मात्र होइन वृद्ध भइसक्नुभएको आमाको सामाजिक सुरक्षा भत्ता १ लाख ५० हजार रुपैयाँ थियो । त्यो पनि गौतमको पसलमा ल्याएर ब्याजमा लगाएको थिए । अहिले गौतम फरार छन् ।’ दुःख गरेर आर्जेको पैसा लिएर गौतम फरार भएपछि समस्या आइलागेको उनले बताए । ‘दिनरात नभनी दुःख गरेर आर्जेको पैसा घर बनाउने सपना थियो । खाइ नखाइ जम्मा गरेको पैसा लिएर फरार भएपछि अहिले समस्या परेको छु,’ उनले भने, ‘ब्याजमा लगाएको पैसा उठाउन सबै निकामा पुगिसके । अहिलेसम्म ब्याजमा लगाएको पैसाँ उठान सकेको छुइन् ।’
ब्याजमा लगाएको पैसा लिएर गौतम फरार भएपछि भण्डारी मात्र बिचल्लमिा परेका होइन् । यहाँका अन्य थुप्रै सर्वसाधरण छन् । भण्डारीकै बहिनी उर्लाबारीकी मन्जु कार्कीले पनि गौतम सुनचाँदी पसलमा २ प्रतिशत ब्याजमा २ लाख २५ हजार रुपैयाँ निक्षेप राखेकी थिइन् । ब्याज आउने समयमा सावा र ब्याज लिन जाँदा व्यापारी गौतम फरार भएको उनले बताइन् । तीन सयभन्दा बढीले बचत गरेको रकम लिएर गौतम गत साउनमा फरार भएको पीडितहरुको भनाइको छ ।
३ सय भन्दा बढी सर्वसाधरणको १२ करोड भन्दा बढी रकम लिएर गौतम फरार भएपछि राजेश गौतम पीडित पहल समूह बनाएको छ । सो समितिको अध्यक्ष गजेन्द्र दंगाल रहेका छन् । उनीहरू अहिले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशानदेखि जनप्रनिधि र सरोकारवालासँग पुगका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय हुदै मोरङ प्रहरीमा सुनचाँदी व्यापारी गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराएका गराएको दंगालले बताए । ‘उजुरी दिएको लामो समय भइसक्यो । अहिलेसम्म गौतम पक्राउ परेका पनि छैन । सम्पर्कमा आएका छैनन ।’
करोडौं कुम्ल्याउने गौतमको नाममा ५२ कित्ता जग्गा
सर्वसाधरणको करोडौं रुपैयाँ उठाएर हिंडेका गौतमको परिवारको नाममा ५२ कित्ता जग्गा रहेको खुलेको छ । उनको नाममा २६ र श्रीमती चित्रकुमारी गौतममा नाममा २४ कित्ता विभिन्न ठाउँमा रहेको रहेको खुलेको पीडित भण्डारीले बताए । ‘अहिले सबै जग्गा मालपोत कार्यालयमा गएर रोक्का गरिएको छ,’ पीडित भण्डारीले भने, ‘हामी पीडितहरूले पैसा नपाउनुजेल सबै निकायमा पुगेर न्यायको ढोका ढक्ढकाउँदै पुगेका छौं ।’
व्यापारी गौतमले सुनचाँदी पसलमा आएका ग्राहकहरूलाई बैंक र सहकारीले दिने भन्दा आकर्षक ब्याज दिने प्रलोभनमा पारी ब्याजमा लगाएको रकम लिएर लामो समयदेखि फरार भएको पीडितहरूले बताएका छन् । गौतमको सुनचाँदी पसलमा १ लाखदेखि २० लाख रुपैयाँसम्म ब्याजमा लगाउने सर्वसाधारण रहेको छन् । उनीहरूले गौतमको पसलमा आएर पैसा जम्मा गरेपछि पासबुक दिने गरेका थिए । तीन सयभन्द बढीले ब्याजमा लगाएको रकम लिएर गौतम फरार भएपछि पीडितहरू जम्मा गरेको पैसा फिर्ता गराउन जनप्रतिनिधिदेखि स्थानीय प्रशासनसम्म हारगुहार गरेका छन् ।
यता मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले पीडितहरुले उजुरी दिएकोले फरार भएका गौतमको खोजी कार्य र अनुसन्धान भइरहेको बताए । यसअघि पनि ऋणका लागि ग्राहकले धितोमा राखेको सुनचाँदी लिएर मोरङका एक सुन पसले बेपत्ता भएका छन् । मोरङको बुढीगङ्गा गाउँपालिकामा ‘चन्दा ज्वेलर्स’ नामको सुन पसल सञ्चालन गरिरहेका चन्दन स्वर्णकार र उनकी श्रीमती सङ्गीता धितोमा राखिएको सुनचाँदी लिएर भागेका हुन् ।
उनीहरूले बोक्ने गरेको मोबाइल फोन स्विच अफ छ । दुबैले आआफ्नो फेसबुक डिएक्टिभ गरेका छन् । पीडितका अनुसार गाउँपालिकाका ३ सयभन्दा बढी ग्राहकले ‘चन्दा ज्वेलर्स’ मा सुनचाँदी धितो राखेर नगद ऋण लिएका थिए ।
पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा चन्दन र सङ्गीताका विरूद्धमा किटानी जाहेरी दर्ता गरेका छन् । यस्तै विराटनगरबाट पनि यसअघि २ वर्ष पहिले ओमलक्ष्मी ज्वेलर्सका शिशु बेगबानी पसल बन्द गरेर यसैगरी सपरिवार भागेका थिए । प्रहरीले उनको पत्ता हालसम्म लगाएको छैन । शिशु र उनको कम्पनी तथा परिवारमा रहेको सबै घरजग्गा बैंकले लिलाम गरिसकेको छ ।