लोड हुँदैछ...

मेनु

खोप आपूर्ति गर्न निजी क्षेत्रको माग

खोप आपूर्ति गर्न निजी क्षेत्रको माग

विराटनगर । मोरङमा क्रियाशील नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतका विभिन्न संगठनहरुले कोभिड महामारीसँग जुध्न तत्काल भ्याक्सिनको आपूर्ति व्यवस्था मिलाउन माग गरेका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण रोक्न भ्याक्सिनबाहेक अरु कुनै विकल्प नरहेको भन्दै सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई आाग्रह गरेको हुन् ।

विज्ञप्तिमा भनिएको छ ‘कोभिड १९ को दोश्रो लहरसँगै संक्रमित र यसबाट मृत्यु हुनेको संख्या हरेक दिन बढिरहेको छ । अस्पतालहरुमा बेड अभाव हुन थालेकोले छ भने सर्वसाधारणलाई स्वास्थ्य सेवा प्राप्त गर्नमा समेत कठिनाइ भइरहेको छ । भ्याक्सिन बाहेक कोभिड १९ को रोकथामको अन्य विकल्प नभएको प्रमाणित भइसकेकोले नीजि क्षेत्रका तर्फबाट भ्याक्सिनको सहज आपूर्तिको व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष अनुरोध गर्दछौ ।’

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश १ र विराट व्यापार संघले संयुक्त प्रेस विज्ञप्ति जारी गरी कोभिडको खोप लगाउने विगतको सिलसिलामा निजी क्षेत्र प्राथमिकतामा नपरेको र अहिले जटिल अवस्थामा आयात निर्यात र बिक्री वितरणलाई निरन्तरता दिन कठिन भएको भन्दै तत्काल निजी क्षेत्रलाई लक्षित गरेर भ्याक्सिन उपलब्ध गराउन माग गरिएको छ ।

स्वास्थ्यको जोखिम उठाएर उत्पादन र वितरणको श्रृङ्खलालाई टुट्न नदिई नीजि क्षेत्रले गरेको योगदानलाई मध्यनजर गर्न र त्यहाँ आवद्ध कामदार, श्रमिक र कर्मचारीहरुलाई कोभिड १९ बिरुद्धको खोप प्राथमिकताका साथ उपलब्ध गराउन पनि उनीहरुले आग्रह गरेका छन् । विज्ञप्तिमा खोपको मूल्य आदिको मापदण्ड निर्धारण गरी निजी क्षेत्रले आपूर्ति गर्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।