धरान । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमण भएर गम्भीर भएका बिरामी राख्ने बेड अभाव भएपछि विरामी भर्ना लिन छाडेको छ ।
शनिबार विहान झापा र उदयपुरबाट उपचारका लागि ल्याइएका कोरोना संक्रमितलाई प्रतिष्ठानले बेड नभएको भन्दै विराटनगर रेफर गरेको छ ।
प्रतिष्ठानका कोभिड फोकल पर्सन डा.इन्द्र लिम्बुका अनुसार कोभिड अस्पतालमा भएका आईसीयू, एचडीयू र जनरल बेड सबै भरिएको छ । अब नयाँ विरामी भर्ना गरेर राख्ने ठाउँ नभएपछि अन्यत्र पठाउन बाध्य भएको उनले बताए । ‘कोभिड अस्पतालमा बेड पाउनका लागि कि बिरामी डिस्चार्ज हुनुपर्ने कि मर्नुपर्ने अवस्था रहेको छ’ उनले भने ।
प्रतिष्ठानभित्रकै कोही चिकित्सक नर्स कोरोना संक्रमण भएर गम्भीर भएको अवस्था पनि आईसीयू, एचडीयू बेड नपाउने अवस्था रहेको लिम्बूले बताएका छन् । सरकारले प्रतिष्ठानको कोभिड अस्पताललाई कोरोना संक्रमणबाट गम्भीर भएका बिरामी उपचार गर्ने लेभल थ्री अस्पताल भनेको छ । तर, पूर्वतयारी र व्यवस्थापनमा ढिलाइ तथा बजेट अभावका कारण सय बेडको अस्पताल विस्तार हुन सकेको छैन ।
प्रतिष्ठानको आफ्नै अक्सिजन प्लान्ट भएपनि कोभिड अस्पतालमा राखिएका सबै बेडमा अक्सिजन पुगेको छैन । अस्पतालका केही भेन्टिलेटर र एचडीयू बेड बिग्रिएकोले समस्या भएको चिकित्सकहरुले बताएका छन् ।
प्रतिष्ठानको कोभिड अस्पतामला १० वटा आईसीयू बेड भए पनि हाल ६ वटामात्र भेन्टिलेटर सञ्चालनमा छन् । २५ बेड एचडीयू भए पनि सबैमा डिफ्रिबिलेटर जडान गरिएको छैन । डिफ्रिबिलेटरको काम एचडीयू बेडमा रहेका बिरामीको मुटुको चाल अचानक बन्द भए करेन्ट पास गराएर पुनः मुटुको चाल फर्काउन सहयोग गर्ने मेसिन हो ।
यहि समयमा कोभिड–१९ को भत्ता संक्रमितको उपचारमा अग्रपंतिमा खट्नेहरुलाई पारदर्शी रुपमा र काम गरेको अनुपातमा वितरण गर्नुपर्ने भन्दै कर्मचारीहरु पनि आन्दोलित छन् । आन्दोलित कर्मचारीहरुका अनुसार गत आर्थिक वर्षमा वृद्धि भएको २० प्रतिशत तलब यथाशिघ्र एकमुष्टले उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको आन्तरिक फायल बढुवा विज्ञापन खोल्नुपर्ने माग छ ।