विराटनगर । कोरोना महामारी फैलिरहेको बेला संक्रमितहरुलाई तत्काल उपचार सेवा प्रदान गर्न बराहक्षेत्र नगरपालिकाले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्दै आएको दुई वटा गाडी बिरामी बोक्न प्रयोग गर्ने निर्णय गरेको छ ।
बराहक्षेत्र नगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै नगरपालिकासँग रहेको सवारी साधन नागरिकको सेवामा समर्पण गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘नागरिकको करबाट प्राप्त भएको सरकारी गाडी नागरिकहरुलाई आवश्यक पर्दा चढिरहन नैतिकरुपमा अक्षम भएको महशुस गरेका छौं ।’ बराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोखरेलले प्रयोग गर्दै आएको बा १ झ ५८१४ र नगर प्रमुख निलम खनालले प्रयोग गर्दै आएको बा १ झ ८८९१ नम्बरको गाडीलाई बिरामी बोक्ने प्रयोजनमा महामरी अवधिभर प्रयोग गर्ने विज्ञप्तिमा उल्लेख ।
नगरपालिकाले सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र ७ मा अक्सिजनको सुविधासहितको ५० बेडको आइसोलेसन तयार गरेको र नगरको सीमा नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर संक्रमित पहिचानको काम सुरु गरेको पनि जनाएको छ । नगरपालिकाले फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसमेतको सम्पर्क नम्बर सार्वजनिक गरेर आवश्यक पर्नासाथ सम्पर्क गर्न अनुरोध गरेको छ ।
विश्वव्यापी कोरोना महामारीबाट प्रभावित हुनेको संख्या बढ्दै गएको भन्दै सुरक्षाका सम्पूर्ण उपायहरु अवलम्बन गर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, समयसमयमा हातधुने, नियमित मास्क लगाउने, भिडभाडमा नजाने, भौतिक दुरी कायम गर्ने जस्ता विषयमा गम्भीर भएर पालना गर्न पनि गरपालिकाले अनुरोध गरेको छ ।
जनतालाई संकट परेको बेलामा आफ्नो जिम्मेवारी अनुसार सुविधामा प्राप्त सवारी साधन जनताकै सेवामा लगाउने कार्य अत्यन्त सकारात्मक रहेको भन्दै त्यस प्रकारको कार्यलाई प्रशंसा गर्नुपर्ने बराहक्षेत्रबासी, उद्योगी तथा नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए । उनले स्थानीय तहबाट सुरक्षाका लागि आवश्यक पर्ने क्षमता अनुसारको काम गर्दै आफु चढ्दै आएको गाडीसमेत एम्बुलेन्स प्रयोजनमा प्रयोग गर्ने कार्य प्रशंसनीय भएको टिप्पणी गरे ।

