विराटगनर । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा विराटनगरमा सात जनाको मृत्यु भएको छ ।
विराटनगर स्थित विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितहरुको मृत्यु भएको हो । विराटनगर स्थित कोसी कोभिड अस्पतालमा चार जनाको मृत्यु भएको छ भने नोबेल मेडिकल कलेजमा दुई जना र न्यूरो अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको छ ।
कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षे पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षे पुरुष, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षे पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षे पुरुषको बिहीबार मृत्यु भएको हो ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि एक जना महिला र एक जना पुरुष कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । मृतक महिलामा पाठेघरको र पुरुषमा मुटुको पुरानो समस्या थियो ।
यता विराटनगरकै न्युरो अस्पतालमा उपचाररत मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षे युवकको पनि मृत्यु भएको छ । दुर्घटनामा परेर अस्पतालमा उपचार गराइरहेका युवकमा उपचारकै क्रममा संक्रमण देखापरेको थियो ।