लोड हुँदैछ...

मेनु

प्रदेश १ : कोरोनामा खटिएकालाई संक्रमण भए खाने बस्नेसहित निःशुल्क उपचार

प्रदेश १ : कोरोनामा खटिएकालाई संक्रमण भए खाने बस्नेसहित निःशुल्क उपचार

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणका बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारी लक्षित विभिन्न सुविधाका कार्यक्रम घोषणा गरेको छ ।

प्रदेश १ सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले विभिन्न ५ वटा निर्णय गरेको छ । सबै निर्णयहरु कोरोना संक्रमणमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरू लक्षित रहेका छन् ।

निर्णयहरुमा प्रदेश सरकारद्वारा खटाई कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट २५ लाख रूपैयाँ प्रदान गर्ने, प्रदेश सरकारद्वारा खटाई कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ‌ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी तथा कर्मचारीहरू कोभिड–१९ बाट संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने। साथै, यसरी कोभिड–१९ बाट संक्रमित भइ होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभइ घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्च समेत प्रदेश सरकारले व्यहोर्ने रहेको छ ।

यस्तै प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, विराटनगरमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजा सहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्ने र सो बमोजिमको क्षतिपूर्ति, उपचार, जोखिम भत्ता तथा क्वारेन्टिन बापतको खर्च प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको लागि विनियोजित बजेटबाट भुक्तानी गर्ने प्रदेश सरकारले निर्णय गरेको सामाजिक विकासमन्त्री उषाकला राईले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।