विराटनगर । मोरङको रतुवामाई–४ स्थित भद्रचोकको मकैबारीमा आइतबार मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।

उनी मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको खुलेको हो । पोस्मार्टममा राखिएको शव मृतकका बावु धनबहादुर सोरेन छोरीको पहिचान गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘शव भेटिएको महिलाको दुई दिनपछि पहिचान भएको छ,’ डिएसी राईले भने, ‘घटनाको विषयमा अहिले अनुसन्धान भइरहेको छ ।’

महिलाको शरिरमा चोटपटक लागेकाले प्रहरीले बलत्कारपछि हत्या गरेको आशंका गरेको छ । ‘अहिले प्रहरीले अनुसन्धान गर्दै आएका छौ,’ डिएपी राईले भने, ‘पोस्मार्टम रिपोर्टपछि थप विषय खुल्नेछ ।’

घटना शङ्कास्पद भएकाले अनुसन्धानका लागि प्राविधिक टोलीसहित तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको थियो । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको डिएसपी राईले बताए । यस सम्बन्धी थप अनुसन्धान गरिरहेको उनले बताए । घटनास्थलमा इलाका प्रहरी कार्यालय सिजुवासहित मोरङ प्रहरीका सादा पोशाकका प्रहरी टोली परिचालन गरेर सुक्ष्म रूपमा अनुसन्धना सुरू गरेको छ ।

मृत अवस्थामा भेटिएकी सरिता कानेपोखरी २ स्थित योगेन्द्र थापा गाई फार्ममा काम गर्दै आएकी थिइन् । शनिबार विहान विवाह जान्छु भनेर उनी उक्त फर्मबाट हिडेकी थिइन् । बिवाहमा जान्छु भनेर हिडेकी सरिताको भोलीपल्ट मकैबारीमा अर्धनग्न अवस्थामा शव भेटिएको छ । रामप्रसाद भण्डारीको मकैबारीमा आइतबार बिहान ९ बजे शव फेला परेको हो । घाँस काट्न गएको बेलामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सरिता विवाहित हुन् । उनको श्रीमानको मृत्यु भइसकेको छ । उनको एक जना छोरा छन् ।